भेडीगोठालेबाट जनसेवामा परिवर्तित गाउँकार्यपालिका सदस्य छन्त्याल

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । आजभोली दिनहुँ जसो तमानखोला गाउँपालिकाको कार्यालयमा परिसरमा शिरमा निलो छातेटोपी । जिउमा हापदुला (भेडाको ऊनबाट बनेको कपडा) भिरेको । अर्धबैसै युवा देखिनुहुन्छ । उहाँ गाउँपालिकामा आउने नागरिकलाई कार्यालयको ढोकैमा स्वागत गर्दै समस्या बुझ्ने र काममा सहयोग गर्नुहुन्छ । उहाँको कामले गाउँपालिका आउने सेवाग्राही पनि खुसी देखिन्छन् । उहाँ हुनुहुन्छ तमानखोला गाउँकार्यपालिका सदस्य ढालेन्द्र छन्त्याल ।

छन्त्याल एक वर्ष अगाडिसम्म दर्जनौ भेडाबाख्रासँग लेक बेसीमा भेटिनुहुन्थ्यो । तर अहिले उहाँ गाउँपालिकाको कार्यालयमा भेटिनुहुन्छ । ३९ वर्षीय छन्त्याल गत स्थानीय निर्वाचन हुँदासम्म भेडी गोठाले हुनुहुन्थ्यो । स्थानीय निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित भएपछि उहाँ भेडापालन छोडेर राजनीतिमा होमिनु भएको छ । सानैदेखि राजनीतिमा चासो राख्ने छन्त्याल स्थानीय तह निर्वाचन २०७४ मा वडा सदस्यमा पराजित हुनु भएको थियो । वडा सदस्यमा हारेपछि छन्त्यालले निरन्तर भेडापालनमै होमिनु भएको थियो ।

गत स्थानीय तहको निर्वाचनपछि जनताको सेवा गर्ने हुटहुटिले गर्दा व्यवसाय छोडेर राजनीतिमा होमिएको छन्त्याल बताउनुहुन्छ । उहाँले बाउबाजेले गरेको पेसालाई आफूले पनि निरन्तता दिँदै आएकोमा अहिले छाडेर राजनीतिमा लागेको बताउनुभयो । छन्त्यालले नेता कार्यकर्ताले यस पटक कार्यपालिका सदस्यमा आउन जोड गरेको र आफ््नो पनि रुचि भएको हुँदा भेडापाल्न छोडेर राजनीतिमा आएको बताउनुहुन्छ ।
उहाँ कार्यपालिका सदस्य भएपछि भेडा पाल्ने समय नहुने हुँदा सबै बेचेर जनसेवामा लागेको बतानुहुन्छ । छन्त्याल भन्नुहुन्छ–“मैले अघिल्लो वर्षसम्म थुप्रै भेडाहरु पालेको थिए, भेडा लिएर धेरै टाढा–टाढासम्म पुग्ने गर्थे, अहिले कार्यपालिका सदस्य भएपछि पालिका आउँदा भेडा भोकै हुन्छन्, भेडा चराउन जाँदा पालिकाको काम छुट्ने हुँदा भेडा पाल्नै छोडेर यता लागेको छु ।”

छन्त्याल स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सदस्यमा निर्वाचित हुनु भएको हो । उहाँ हाल तमानखोला गाउँपालिकाको आर्थिक विकास समितिको संयोजकसमेत हुनुहुन्छ । तमानखोला गाउँपालिका–२ का छन्त्याल १६ वर्षकै उमेरमा विदेशिनु भएको थियो । कतार र दुबईमा आधा दशक बढी बिताएको छन्त्याल बताउनुहुन्छ । विदेशबाट आएर भेडापालनमा लाग्नु भएका छन्त्यालले अहिले जनताको सेवा गर्न पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

“म सामान्य परिवारको मान्छे हुँ, गाउँमा गरिबी, अशिक्षा, बेरोजगारी छ, हाम्रो समाज विकासले पछाडि परेको अवस्था छ, यसलाई बदल्न म राजनीति गर्न थालेको हुँ, मलाई कुनै व्यक्तिगत स्वार्थ छैन्, सुरुको चुनावमा के कमिकमजोरी भएछ, चुनाव जित्न सकेन,” उहाँले भन्नुभयो– “अहिले मलाई जनताले पत्याउनुभयो, सेवा गर्ने अवसर मिल्यो, इमान्दारिताका साथ काम गर्छु ।”

ADVERTISEMENT

उहाँले भेडापालनबाट वर्षिक पाँच लाखसम्म कमाउँदा नमिलेको खुसी अहिले आम्दानी नहुँदा पनि खुसी मिलेको बताउनुभयो । छन्त्यालका घरमा बुबाआमा, दुई छोराछोरी र श्रीमति हुनुहुन्छ । श्रीमतीले स्थानीय विद्यालयमा शिक्षण गर्ने हुँदा परिवार चलाउन त्यत्ति समस्या नभएको छन्त्याल बताउनुहुन्छ ।

छन्त्याल भन्नुहुन्छ– “पहिले वार्षिक लाखौँ आम्दानी हुँदा पनि ठिकै थियो, अहिले आम्दानी छैन र पनि दैनिकी चलेको छ, मैले जनताको सेवा गरेको छु, म्याडमले (श्रीमती) टिचिङ गर्छिन्, त्यसले परिवार चलेको छ, पैसालाई मैले सबैथोक मानिन, मैले समाज परिवर्तन गर्नुछ, आर्थिक अभाव त भइनै हाल्छ तर पनि व्यवस्थापन गर्दै अगाडि बढ्दै गर्ने हो ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले छन्त्याल पालिकाको काममा सक्रिय भएर लाग्ने गरेको बताउनुभयो । छन्त्यालले पालिकाका योजना र कार्यक्रममा पहिलेदेखिनै चासो राख्ने र सहभागी हुँदै आएको भन्दै अहिले निर्णय गर्ने स्थानमा आइ पुगेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

“ढालेन्द्र सर पहिलेदेखिनै राजनीतिप्रति धेरै चासो राख्नु हुन्थ्यो, पहिले वडा सदस्यमा पराजित भए पनि बेला–बेला पालिकामा आएर यहाँका योजना तथा कार्यक्रमका बारेमा चासो दिने र सोधखोज गर्ने गर्नुहुन्थ्यो,” अध्यक्ष बुढा मगरले भन्नुभयो – “उहाँको राजनीतिप्रतिको लगाब र चिन्तन बढी छ, पालिकामा भएको आफ्नो जिम्मेवारी अहिलेसम्म कुशलतापूर्वक गर्दै आउनु भएको छ, हामीहरु सिक्ने सिकाउने क्रममै छौँ ।”
गाउँपालिकामा सेवा लिन आउनु भएका नरज रमाइलीले छन्त्याल जनताको सहयोगी बनेको बताउनुभयो । छन्त्यालले पालिकामा आउने सबै सेवाग्राहीलाई समाज व्यवहार गर्ने गरेको रसाइलीको भनाई छ ।

उहाँले भन्नुभयो–“उहाँ सर निकै सहयोगी भावनाको हुनुहुन्छ, गाउँपालिकामा आउने सेवा ग्राहीहरु सबै जाने बुझेका हुँदैनन्, उहाँले कुन शाखाको के काम हो, पालिकामा हुने हो की होइन, त्यो सबै बताइ दिने र आफूले गर्ने काम भए छिटो छरितो गरि दिनुहुन्छ, उहाँको त्यो व्यवहार देख्दा अरु कर्मचारी र जनप्रतिनिधिहरु यस्तै भए जनताले दुःख पाउँदैनथे होला जस्तो लाग्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज