सिरहा । जनप्रतिनिधिसँगको मिलेमतोमा अवैधरूपमा माटो उत्खनन् गर्ने दुईवटा ट्रक र एउटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा गोलबजार नगरपालिका-७ चोहर्वास्थित सामुदायिक भवनछेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभूत विद्यालय कदिमाटोल नजिकैबाट अवैधरूपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा १ क ७३२९ नम्बरको डोजर र ना २ क ९ नम्बरको ट्रक र ज १ क ४९४ नम्बरको अर्काे डोजर नियन्त्रणमा लिएको हो । माटो उत्खनन्का कारण विद्यालय जोखिममा परेको स्थानीयको भनाइ छ । सानो खोल्साको डिलमा रहेको विद्यालय नजिकबाट जथाभावी माटो निकाल्दा विद्यालयमा पहिरो जाने अवस्थामा पुगेको स्थानीय युवाको भनाइ छ ।
नगरकै योजनाको काममा प्रयोग भइरहेको माटो अवैधरूपमा उत्खनन् हुँदा पालिकाको दोहोरो करछली भएको स्थानीय युवा बताउँछन् । यसरी दर्ता नभएको खानी वा जमिनबाट माटो खरिद गर्दा राजस्व छली हुन्छ नै । सँगै उपभोक्ताले सस्तोमा किनेर महँगोको बिल हाल्न पाउने सुविधा पनि रहन्छ । वडाध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्बरी जमिनबाट माटो ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्बरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन, नजिकै भेटेकाले ल्याएछ ।’
नगरपालिकाको श्रममूलक कार्यक्रम निर्माण कार्य (एलआइपी) कार्यक्रमअन्तर्गत गोलबजार नपा-७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङका लागि २० लाख रकम छुट्याएको छ ।
अधुरो सामुदायिक भवन फिनिसिङका लागि उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता नै नगरी काम सुरु गरेको छ । गोलबजार नगरपालिकाका रोजगार संयोजक सुरेश ठाकुरले समिति गठन भएको सुने पनि आधिकारिकरूपमा फाइल आइनसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फाइल नै आएको छैन, फाइल नआई सम्झौता र कार्यादेश कसरी हुन्छ ?’ भन्दै उहाँले उल्टै प्रतिप्रश्न गर्नुभयो ।
वडाध्यक्ष हरिशरण ठाकुरले केही दिन पहिला सर्वदलीय, सर्वपक्षीय बैठक बसेर समिति गठन गरे पनि अझै आधिकारिक जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठकबाट समिति गठन भइसकेको छ, समितिमा को–को छन् भन्ने मैले जानकारी लिनुपर्छ, त्यही समितिले काम गरेको होला ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts