२३ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्दै निसीखोला गाउँपालिका

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिक उपचारका लागि बुर्तिबाङ झर्नु पर्छ । बुर्तिबाङमा पनि उपचार हुन सकेन भने पाल्पा, पोखरा र काठमाडौ पुग्नु पर्ने बाध्यता छ । वर्षौँ अगाडिदेखि स्वास्थ्य बीमाका कार्यक्रमहरु संचालन भए पनि धेरैले त्यो सेवा लिएका छैनन् । निसीखोला गाउँपालिकाले अहिले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ ।

गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पालिका भरका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका थिए । सोही अनुसार गाउँपालिकाले गाउँ-गाउँमा पुगेर निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगरले पालिकाभर रहेका २३ हजार ३०० बढी नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको बताउनुभयो ।

उहाँले अशिक्षित तथा आर्थिक अभावका कारण नागरिकले सामान्य रोगको उपचार नपाएको भन्दै उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई तीव्रता दिएको बताउनुभयो । गरिबीका कारण कयौँ नागरिकले उपचार नपाए ज्यान गुमाउनु परेको भन्दै अब कोही पनि आर्थिक अभावमा रोग पालेर बस्न नपर्ने अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

“निसीखोला पहिलेदेखि नै पछाडि परेको ठाउँ हो, अहिलेसम्म पनि यहाँ राम्रो उपचार गराउने अस्पताल छैन, स्थानीयहरु अस्पतालमा भन्दा बढी धामी झाँक्रीको विश्वास गर्छन्, अन्धविश्वासका कारण धेरैले ज्यान गुमाएका छन्” अध्यक्ष घर्ती मगरले भन्नुभयो-“हामी निर्वाचित भएर सपथ लिँदा नै निःशुल्क स्वास्थ्य बीमा गर्ने उद्घोष गरेका थियौँ, सोही अनुसार अहिले यो कार्यक्रम सुरु भएको छ ।"

उहाँले नेपाल सरकारले लिएको स्वास्थ्य बीमा अभियानमा गाउँपालिकाले हातेमालो गरि दूर दराजमा रहेका सबै नागरिकलाई यो अभियानमा सहभागी गराउने बताउनुभयो । उहाँले स्वास्थ्य संस्थाहरु पनि गाउँपालिकाले निर्माण गरि रहेको भन्दै कुनै पनि नागरिकले सामान्य उपचारका लागि घण्टौँ धाउन नपर्ने बताउनुउनुभयाे ।

ADVERTISEMENT

अध्यक्ष घर्ती मगर भन्नुहुन्छ-“गाउँपालिकाले अहिले सबै नागरिकलाई पायक पर्ने ठाउँहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरेको छ, पहिले स्थापना भएका स्वास्थ्य चौकीहरुलाई व्यवस्थित बनाउने र केही नयाँ ठाउँमा स्वास्थ्य उपचार केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने गरि तयारी गरेका छौँ, करिब-करिब सबै ठाउँमा स्वास्थ्य संस्था स्थापना गरि सकेका छौँ ।”

गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ती मगरले पुस महिनाभर सबै नागरीकको निःशुल्क स्वास्थ्य बीमा गरिसक्ने गरी अभियान चलाएको बताउनुभयो । उहाँले गाउँमै स्वास्थ्य बीमा गर्ने गरि सात वटै वडामा कर्मचारी खटाउने बताउनुभयो । निःशुल्क स्वास्थ्य बीमाका लागि गाउँपालिकाले यस वर्ष दुई करोड बजेट रुपैयाँ विनियोजनगरेको छ ।

उपाध्यक्ष घर्ती मगरले भन्नुभयो-“स्वास्थ्य बीमा यो महिना भरि गरि सक्छौँ, यो अभियानबाट कोही पनि नागरिक छुट्ने छैनन्, सबै वडाहरुमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु खटिने छन्, त्यसका लागि सबै व्यवस्थापन पूरा भएको छ ।”

स्वास्थ्य बीमा गरेका नागरिकले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको निशुल्क उपचार र औषधि प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज