अक्सिजनमा आत्मनिर्भर धौलागिरि

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । कुनै समय अक्सिजनको चरम संकट भोग्दै आएको बागलुङको धौलागिरी अस्पतालले अहिले आफैँ अक्सिजन निर्यात गने अवस्थामा पुगेको छ । धौलागिरि अस्पतालमा कोरोना कालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पताल परिसरमा तीन करोड लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । विगत दुई महिनादेखि प्लान्ट सञ्चालनमा आएर अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । साविक धौलागिरि अञ्चलका जिल्लाहरूमा अक्सिजन निर्यात गर्न थालेको हो । अक्सिजन उत्पादनसँगै धौलागिरि अक्सिजनमा आत्मनिर्भर बनेको छ ।

निजी कम्पनीबाट अक्सिजन खरिद गरेर बिरामीको उपचार गर्दै आइरहेको अस्पतालमा चार वर्षअघि २५ शैयालाई पुग्ने अक्सिजन प्लान्ट गण्डकी प्रदेशको ५० लाखको लागतमा स्थापान गरिएको थियो । त्यसलगत्तै कोरोना संक्रमण बढ्दै जानु र अस्पतालमा बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुँदा सानो अक्सिजन प्लान्टले थेग्न नसक्दा कोरोनाको दोस्रो लहरमा पोखराबाट सिलिण्डरमा अक्सिजन ल्याएर कोरोनाका बिरामीको ज्यान बचाएको अस्पतालले अहिले अन्य जिल्ला अस्पताल, पालिका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्न थालेको धौलागिरि अस्पताल बागलुङका प्रशासकीय अधिकृत तेजप्रसाद न्युरेले जानकारी दिनुभयो ।

तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टले धौलागिरि अस्पतालमा बिरामीलाई चाहिनेभन्दा बढी अक्सिजन उत्पादन गरेकाले अन्य अस्पताल र निजी क्षेत्रलाई अक्सिजन भरेर लैजाने व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले बढी उत्पादन भएको अक्सिजन सुलभ मूल्यमा निर्यात गर्दा अक्सिजन प्लान्ट सञ्चालन खर्चको समेत जोहो हुने बताउनुभयो । ‘सडक अवरुद्ध हुँदा झोलुङ्गे पुल तारेरसमेत अक्सिजन सिलिण्डर ल्याएर कोरोनाका दोस्रो लहरमा बिरामीको ज्यान बचाइयो, पछि सरकारले धौलागिरि क्षेत्रलाई नै पुग्ने गरी यही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी बजेट व्यवस्थापन गर्‍यो’ न्युरेले भन्नुभयो, ‘अहिले पर्वत जिल्ला अस्पतालमा अक्सिजन आवश्यक परेमा लैजानु हुन्छ, बागलुङका पालिका अस्पतालहरूलाई अक्सिजन प्रयोग गर्नका लागि सम्पर्कमा आउन पत्रचार गरिसकेका छौँ, हाम्रो अक्सिजन निजी कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयको समेत बचत हुन्छ, कोरोना जस्तो सम्भावित महामारीको समयमा धौलागिरिमै अक्सिजन आपूर्ति गर्न अस्पतालले सक्ने भएको छ ।’

ADVERTISEMENT

न्युरेका अनुसार अक्सिजन प्लान्टबाट अक्सिजन भर्नाका लागि न्यूनतम शुल्कसमेत अस्पतालले निर्धारण गरिसकेको छ । सानो सिलिण्डर, मध्यम र ठूलो गरी तीनवटा अक्सिजन सिलिण्डर भर्नका लागि दररेट कायम गरिएको र निजी क्षेत्रले खरिद गर्दा भ्याट रकमसहित अतिरिक्त ५० रुपैयाँ बढी लाग्नेछ ।

सानो अक्सिजन सिलिण्डरको रु.३७०, मध्यमको ६५० र ठूलो अक्सिजन सिलिण्डरको एक हजार ३०० मा भर्ने व्यवस्था मिलाइएको छ । धौलागिरि अस्पतालमा कोरोनाको दोस्रो लहरमा औद्योगिक क्षेत्रमा रहेका अक्सिजन सिलिण्डरहरू प्रयोग गरेर नागरिकको उपचार गरे पनि पछिल्लो समय अक्सिजन सिलिण्डरहरू समेत अस्पताललाई पर्याप्त पुग्ने गरी सुरक्षित गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अभिषेक वाग्लेले जानकारी दिनुभयो । ‘अक्सिजन सिलिण्डरमा भरेर राखिन्छ, अघिपछि अक्सिजन बढी उत्पादन भएर खेर गइरहेको हुन्छ, तर महामारीमा अक्सिजनको धेरै महत्व हुन्छ त्यसैले अस्पताललाई पुगेरसमेत अन्य अस्पतालमा निर्यात गर्न सक्ने गरी अक्सिजन उत्पादन भइरहेको छ’ डा. वाग्लेले भन्नुभयो, ‘मानिसको जीवन बचाउनका लागि अत्यावश्यक रहेको अक्सिजन आफ्नै अस्पतालमा उत्पादन हुनु र आवश्यक पर्दा अन्य जिल्लाका अस्पताल र पालिका अस्पतालमा भरेर पठाउन सकिने भएकाले धौलागिरिवासी अक्सिजनमा आत्मनिर्भर भएका छन् ।’

धौलागिरि अस्पताललाई गण्डकी प्रदेशको उप-प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने गरी २०० शैयाको बनाउँदा अक्सिजन प्लान्टले उत्पादन गरेको अक्सिजन अस्पतालमै खपत हुन सक्ने अस्पतालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज