काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ ।
आईतवार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव बिष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो ।
उहाँले आफूहरु जनमतको विपरित सरकार निर्माणको लागि अवाञ्छित र गैर संसदीय गतिविधि नगर्ने बताउनु भयो । उहाँले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडी नहट्ने स्पष्ट पार्नुभयो ।
सचिव बिष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहना बिरुद्धका काम नगर्ने बताउनु भयो । सरकार बनाउनका लागि एमालेलाई हतारो नभएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हामी प्रतिपक्षमा बस्नका लागि जनताले स्थान प्रदान गर्नुभएको छ । हामी सरकार निर्माणको लागि अवाञ्छित गतिविधि गर्ने गैर संसदीय, गैर लोकतान्त्रिक, अवाञ्छित, अशोभनिय काम गरेर सरकार निर्माण गर्ने प्रयत्नमा अल्झिदैनौँ । चाहे नेकपा(एमाले) सरकारमा रहँदा होस् । चाहे प्रतिपक्षमा रहँदा होस् लोकतन्त्र, संसदीय अभ्यास, जनताका अपेक्षालाई सम्मान गर्नेगरी लोकतन्त्रको मर्यादा र गरिमालाई माथि उठाउने गरी नै हामीले भुमिका निर्वाह गर्छौं । फेरि पनि हामीले हाम्रा घोषणाहरु मार्फत जनताको जीवनलाई परिवर्तन गर्नेदेखि देशलाई सबल बनाउने जुन प्रतिवद्धता व्यक्त गरेका छौँ । यदी आवश्यकता महशुस भयो भने, यदी हामीलाई त्यो प्रकारको जिम्मेवारी लिने बाध्यता भयो भने नेकपा (एमाले) जुनसुकै प्रकारको जिम्मेवारीसहित अगाडी बढ्न पनि पछि पर्दैन । तर सरकार बनाउने नाममा विगतमा कतिपय अवाञ्छित गतिविधिहरु, गैरसंसदीय गतिविधिहरु जनताका रुची, आस्था, चाहानाविरुद्धका कामहरु हुने गर्दथे । त्यो प्रकारको बाटोमा नेकपा (एमाले) हिँड्दैन । हामी सरकारमा रहँदा वा प्रतिपक्षमा रहँदा राष्ट्र र जनताको हीतलाई शिरमा राख्छौँ ।'
उहाँले भन्नुभयाे, 'संसदीय अभ्यासमा, लोकतान्त्रिक अभ्यासमा देखापरेका कमजोरीहरुलाई, कतिपय समस्याहरुलाई सुधार गर्नेगरी, अझ जनतालाई लोकतन्त्रप्रति भरोसा जगाउने गरी, लोकतान्त्रिक व्यवस्थालाई जनताप्रति जवाफदेही र जिम्मेवार बनाउनेगरी नै हाम्रा भुमिकाहरु केन्द्रीत रहनेछन् । यसकारण सरकार निर्माणका लागि हामीलाई हतारो छैन । हामीलाई त्यो गर्नुछैन ।’
उहाँले नेकपा (एमाले) लाई कमजोर बनाउनका लागि गत निर्वाचनमा वामपन्थीहरुले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेका बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि बताउनु भयो ।






