रुपन्देही । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताउनु भएको छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउनु भयो ।
उहाँले राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरन्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह गर्नु भएको छ । मन्त्री खड्काले दाङ्गको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश मातहतका मन्त्रालयहरु औपचारिक कार्यक्रमका साथ प्रदेश सरकार अगाडि बढ्ने बताउनु भयो।
मन्त्री खड्काले अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले देशको संविधान , राष्ट्रिय स्वाधिनता र व्यवस्था माथि दरार पैदा गरेर प्राप्त उपलब्धीहरु नै गुम्ने खतरा बढेको वताउनु भयो । राजनीतिक दलको विकल्प स्वतन्त्र वा कुनै व्यक्ति विशेष नहुने जिकिर गर्दै लोकतन्त्रको स्थापनाको लागी जेलनेल यातना भोगेका नेताहरुको भावनालाई कुल्चेर कुनै विचार र गन्तव्य नै नभएहरुले फैलाएको अफवाहले देशलाई सही मार्गमा लैजान नसक्ने ठोकुवा गर्नु भयोे ।
त्यस्तै नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको बताउनु भएको छ । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्नेमा जोड दिनुभयोे ।
उहाँले जनताको जनमत प्राप्त प्रतिनिधिहरुको भावनालाई कुल्चेर बिना पूर्वाधार नै बलजस्ती ढङ्गले मन्त्रालय सारिनुले आउने पुस्तालाई समेत नकारात्मक सन्देश जाने वताउनु भयो । उहाले देशको अर्थतन्त्र नै खल्बलिएको अवस्थामा राज्यको करोडौं रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासन माथि नै गम्भिर प्रश्न उठेको बताउनु भयो।
कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।






