नवलपरासी पश्चिममा धान उत्पादन ४५ प्रतिशतले वृद्धि

Read Time = 3 mins

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चि) मा यसवर्ष धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ सय ७३ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ ।

यसवर्ष जिल्लामा २० हजार पाँच सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।

“यो वर्ष प्रति हेक्टर चार दशमलव ५५ मेट्रिक टनका दरले धान उत्पादन भएको तथ्याङ्क सङ्कलन गरेका छौँ”, चौधरीले भन्नुभयो, “गतवर्ष जिल्लामा ६४ हजार तीन सय दुई मेट्रिक टन धान उत्पादन भएको थियो ।”

ADVERTISEMENT

यस वर्षको साउन महिनाको खडेरीले धानमा क्षति पुगे पनि त्यसपछि नियमित पानी परेकाले धानमा क्षति हुन नपाएको चौधरीको भनाइ छ । रामग्राम नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका, सुनवलका केही भाग र बर्दघाट नगरपालिका धानको पकेट क्षेत्रको रुपमा चिनिन्छ ।

प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि उपयुक्त मानिन्छ । जिल्लामा हाईब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ । धान प्रवद्र्धनका लागि गुणस्तरीय बीजवृद्धि कार्यक्रम, मसिना धानका कार्यक्रम सञ्चालन, सिँचाइका लागि पचास प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण, गुणस्तरीय बीउमा जोड दिने लगायतका कार्यक्रम सञ्चालन गर्ने गरिएको कृषि ज्ञान केन्द्र परासीका सूचना अधिकारी समीर मगरले जानकारी दिनुभयो ।

“अनुकूल मौसम, रोगको प्रकोपमा कमी, किसानमा व्यवस्थापन र सचेतनामा वृद्धि, गुणस्तरीय बीउको प्रयोग, मलखादको व्यवस्थापन लगायतका कारण धान उत्पादनमा वृद्धि भएको हो”, सूचना अधिकारी मगरले भन्नुभयो, “रासायनिक मलको अभाव देखिए पनि कृषि सामग्रीमार्फत् केही हदसम्म मलखाद आएको र खुल्ला सीमा नाकाका कारण किसानले वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि धान उत्पादनमा वृद्धि भएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *