ढोरपाटन उपत्यकामा १५ शैय्याको अस्पताल बन्दै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन विश्वमै चर्चित छ । आरक्षको मुख्य कार्यालय रहेको ढोरपाटनलाई अहिलेसम्म आधारभूत विकासले छुन सकेको छैन । स्थानीय सरकार गठन पश्चात यहाँ विस्तारै पूर्वाधार निर्माण हुने चरणमा छ । एक दशक अगाडि नै मोटरबाटो पुगे पनि सडकको अवस्था निकै जोखिमपूर्ण छ । पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससंग जोड्न थालेको छ ।

यस वर्षदेखि वडा नम्बर ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ । जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीय खुसी भएका छन् । अस्पताल केन्द्र सरकारले विनियोजन गरेको साढे १४ करोड ७६ लाख लागतमा निमाण हुन लागेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शøयाको हुने थापाको भनाइ छ ।

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा कुनै पनि स्वास्थ्य संस्था थिएनन् । नगरपालिकाले वि.सं. २०७६ मा ढोरपाटन सामुदायिक स्वास्थ्य इकाई र वर्थिङ सेन्टर स्थापना गरेको स्वास्थ्य शाखा संयोजक थापा बताउनुहुन्छ । त्यसभन्दा पहिले यहाँका स्थानीयहरू उपचारका लागि बुर्तिबाङ नै झर्ने गरेको उहाँको भनाइ छ । थापा भन्नुहुन्छ- ‘ढोरपाटनमा अहिले प्रसुति सेवाका लागि वर्थिङ सेन्टर छ, वर्थिङ सेन्टरसँगै नगरपालिकाले ढोरपाटन सामुदायिक स्वास्थ्य इकाई सुरु गरेको छ, अहिले तीन जना स्वास्थ्यकर्मी र दुई जना कर्मचारीले सेवा दिइ राख्नु भएको छ, यहाँको सेवालाई थप विस्तार गर्ने योजनामा छौँ ।’

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले नागरिकको सहजताका लागि ढोरपाटनमा नगर अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले वर्षौँदेखि यहाँका सयौँ नागरिक सामान्य स्वास्थ्य उचारका लागि पनि बुर्तिबाङ धाउनु पर्ने बाध्यता रहेको भन्दै अस्पताल निर्माण पश्चात यहीँ उपचार गर्न पाउने बताउनुहुन्छ । ‘ढोरपाटन नाम धेरै चर्चित भयो, तर यहाँ विकास हुन सकेन, हामी जनप्रतिनिधि भएर आएपछि नगरपालिकाको क्षमता अनुसार विकास निर्माणलाई जोड दिएका छौँ, वर्षौँदेखि यहाँका सयौँ नागरिक उपचारका लागि दिनभर लगाएर बुर्तिबाङ पुग्नु पर्ने बाध्यता छ, अब यसको अन्त्य हुने छ, नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनु हुने छ ।’

ढोरपाटन उपत्यका क्षेत्रमा खास गरि घुम्ती बसाइँ हुने गर्छ । यहाँ ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का करिब तीन हजार बढी नागरिक यहाँ बस्ने गर्छन् । हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गरेको उपप्रमुख कायत बताउनुहुन्छ । अस्पताल निर्माणपछि ढोरपाटनसँगै रुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने उहाँको भनाइ छ ।

ADVERTISEMENT

‘अहिले यहाँका नागरिकले स्वास्थ्य उचारका लागि निकै दुःख पाउनु भएको छ, अस्पताल नजिक नहुँदा केहीले बाटो मै ज्यान गुमाउनु परेको छ, यहाँ अस्पताल बनि सकेपछि ढोरपाटनका नागरिक मात्र नभई रुकुम र म्याग्दीका स्थानीयले पनि सेवा लिन पाउने छ, अहिले सामुदायिक स्वास्थ्य इकाईबाट सामान्य उपचार हुने गरेको छ’ उहाँले भन्नुभयो ।

स्थानीय कुलबहादुर विकले अस्पताल नजिकमा नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले अहिले नजिकमा स्वास्थ्य इकाइ संचालनमा आए पनि सामान्य उचार मात्रै हुने गरेको बताउनुहुन्छ ।

विक भन्नुहुन्छ- ‘यो क्षेत्रका जनताले निकै दुःख पाएका छन्, बिरामी परे भने कि बुर्तिबाङ जानु पर्छ, कि त पोखरा, काठामाडौं, पाल्पा र बुटवल जानु पर्ने अवस्था छ, अस्पताल टाढा भएको कारण अहिलेसम्म धेरैको बाटो मै मृत्यु भएको छ, अहिले सरकारले हाम्रो समस्या बुझेर नजिकै अस्पताल बनाउन थालेको यस अस्पताल बन्यो भने धेरैलाई सुविस्ता (सुविधा) हुने छ ।’

अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरु गरेको निर्माण कम्पनीका प्रमुख दिपक अदैले बताउनुभयो । उहाँले २०८१ को असार मसान्तसम्म सक्ने गरि सम्झौता भएको र काम पनि सोही अनुसार अगाडि बढाएको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज