सत्ता गठबन्धनमा नयाँ सरकारकाे नेतृत्व भन्दा पनि पद बाँडफाँड नै टाउको दुखाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । प्रतिनिधिसभातर्फ प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५८ सिटको नतिजा सार्वजनिक भइसकेको छ । चारवटामा मतगणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना हुन सकेको छैन । दोलखाका १० मतदान केन्द्रमा १५ मंसिरभित्र पुनः निर्वाचन गराउन निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । त्यसैले त्यहाँ निर्वाचन भएर अन्तिम नतिजा आउन २० मंसिरसम्म लाग्ने आयोगको अनुमान छ ।

आयोगले समानुपातिक निर्वाचनको मतगणना पनि अन्तिमतिर पुर्याएको छ । अहिलेसम्म ९३ लाख २६ हजार १५७ मतगणना भइसकेको आयोगले जनाएको छ । एक करोड सात लाख मत खसेकोमा अब १६ लाखभन्दा बढी गणना गर्न बाँकी छ । आयोगले २२ मंसिरसम्म समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक गर्ने बताइसकेको छ । समानुपातिकतर्फ कस्को कति सिट आउला रु यो अझै प्रष्ट छैन । अहिलेसम्मको स्थितिमा ६ दलले थ्रेसहोल्ड भेटिरहेका छन् । क्रमशः एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा । तर अरु तीन दल क्रमशः एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि नजिक देखिन्छन् ।

अबको दुई साताभित्र नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने घनीभूत छलफल हुने भएको छ । सत्तागठबन्धनले सहज बहुमत प्राप्त गरेकाले अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावना पनि प्रबल छ । खासगरी सत्ता बाँडफाँडमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति जुटेमा अहिलेकै सरकारले निरन्तरता पाउने आकलन गरिएको छ । त्यसका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख पद बाँडफाँड नै नेताहरूका लागि टाउको दुखाईको विषय बनेको छ । धेरै दलका धेरै आकांक्षीाका कारण वर्तमान सत्ता गठबन्धनलाई त्यो अर्को चुनौति हुन सक्छ ।

गठबन्धनमा रहेका दलमध्ये जति प्रधानमन्त्रीका आकांक्षी छन् त्यति नै संख्यामा भावी राष्ट्रपतिको आकांक्षी रहेका छन् ।

समाचार स्रोतका अनुसार यति बेला सके प्रधानमन्त्री नभए भावी राष्ट्रपति हुने दाउमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल हुनुहुन्छ ।

ADVERTISEMENT

यसैगरि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई समेत प्रत्यक्ष चुनावमा नउठी बस्नु भएको कारण भावी राष्ट्रपति बन्ने योजना मुताविक नै हो भन्ने पनि यस अघि नै हल्ला चलेको थियो । यसैगरि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि चुनावमा पराजय भोगेपछि सोही दाउमा हुनु भएको चर्चा छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सोही चाहनामा रहनु भएको नेताहरु बताउँदै आएका छन् ।

यतिबेला कांग्रेस र माओवादीले प्रधानमन्त्री पदमा दाबी गरेका छन् । त्यसमा पनि कांग्रेस भित्र आधा दर्जन आकांक्षी छन् । आकांक्षी धेरै भएपछि कांग्रेसले सरकारको नेतृत्व नगर्ने पनि अनुमान हुन थालेको छ । निर्वाचनले कांग्रेसलाई ठूलो दलका रूपमा स्थापित गरेकाले प्रधानमन्त्रीमा पहिलो दाबी कांग्रेसकै हुनु स्वाभाविक मानिन्छ । आकांक्षी र पद बाँडफाँडका कारण यदि कांग्रेसले ठूलो दलको हैसियतमा सरकार बनाउन नसके, अर्को विकल्प खुला हुनसक्छ ।

अहिलेकै सरकारलाई निरन्तरता दिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थाल्नु हुने छ। तर, कांग्रेस संसदीय दलको नेता पुनः निर्वाचित हुनुपर्ने भएकाले समानुपातिक नतिजा कुर्नैपर्ने अवस्थामा दलहरू छन् । कांग्रेसमा महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले कसरी गठबन्धन बन्छ भन्ने चासो पनि छ । यसैगरि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताले प्रधानमन्त्रीको आकांक्षा राख्दै दौडधुप थाल्नु भएको छ ।

उता एमाले अध्यक्ष केपी ओली पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुट्नु भएको छ । त्यसका लागि उहाँले वाम एकताको नारा अघि सार्नु भएको छ । अर्कोतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई अलग राखेर सरकार बनाउने प्रयासमा पनि उहाँ लाग्नु भएको चर्चा छ। स्रोतका अनुसार ओलीले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीसँग यसबारे अनौपचारिक ढंगले कुराकानी थाल्नुभएको छ । तर, अहिलेसम्मको प्रत्यक्षको नतिजा हेर्दा ओली नेतृत्वमा सरकार बन्ने सम्भावना धेरै कम छ । माओवादी र एकीकृत समाजवादीमध्ये एउटा दललाई साथमा नलिई ओलीले सरकार बनाउन कठिन छ ।

प्रत्यक्षतर्फ एमालेले अहिलेसम्म ४२ सिट जितेको छ । दुईमा अग्रता छ । राप्रपा, रास्वपा, जसपा र उन्मुक्ति पार्टीको गरी २५ सिट छ । एमालेले थप दुई जितेमा ४४ र चार पार्टीको २५ गरी ६९ सिट हुन्छ । अझै ओलीलाई ६९ सिट आवश्यक पर्छ । एमालेले समानुपातिकमा ३५, रास्वपाले १५, राप्रपाले सात र जसपाले चार पाए पनि ओलीलाई सरकार बनाउन बहुमत पुग्दैन । त्यसैले अहिलेसम्म कांग्रेस नेतृत्वमै सरकार बन्ने नेताहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज