अलैंचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

रासस
रासस
Read Time = 9 mins

पोखरा । कृषिका लागि निकै उर्वर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैंचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैंचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे-८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरूपमा अलैंची खेती गर्न थाल्नुभएको छ । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहनुभएका लामिछाने भन्नुहुन्छ, ‘अन्य बालीभन्दा अलैंचीबाट राम्रो मुनाफा भएपछि यसतर्फ ध्यान जान थाल्यो ।’ उहाँले सेपिलो बाँझो जग्गामा अलैंचीखेती हुने हुँदा खेर गएको जग्गाको उपयोग भएको बताउनुभयो ।

स्थानीय किसानले २०५०/५१ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मार्फत् इलाम र ताप्लेजुङ भ्रमणमा गएका बेला त्यहाँबाट अलैंचीको रामसाइँ र गोलसाइँ जातका केही बेर्ना ल्याएर रोपेका थिए । यसले राम्रो उत्पादन दिएपछि स्थानीयवासी अलैंचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । त्यतिबेला रोपेको अलैंचीको बेर्नाले अहिलेसम्म पनि फल दिइरहेको छ । एकचोटिको लगानी र मिहिनेतको प्रतिफल लामो समयसम्म पाइने भएकाले पनि किसानको रोजाइमा पर्दै गएको उहाँ बताउनुहुन्छ ।

लामिछानका अनुसार पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अलैंची क्षेत्र कार्यक्रममार्फत् अनुदान प्राप्त हुन थालेपछि यस क्षेत्रका किसानको रुचि अझ बढेको हो । परियोजनाको अनुदानमा उक्त क्षेत्रमा ११ वटा अलैंची सुकाउने आधुनिक भट्टी पनि निर्माण गरिएको छ । त्यसैगरी पोखरा-२५ हेम्जाका भुवनेश्वर पौडेलले पनि अहिले माछापुच्छ्रे गाउँपालिका-६ धिताल गाउँमा व्यावसायिक अलैंचीखेती सुरु गर्नुभएको छ । सरकारी सेवाबाट अवकास लिएपछि कृषि कर्ममा लाग्नुभएका पौडेल अहिले अलैंचीखेतीबाट निकै उत्साहित हुनुहुन्छ । माछापुच्छ«े एग्रो सेन्टर प्रालिका अध्यक्षसमेत रहनुभएका पौडेलले सुरुमा परीक्षणका लागि करिब सात रोपनी क्षेत्रफलमा मात्र अलैंची लगाएको र उत्पादन राम्रो भएपछि क्षेत्र विस्तार गरेर व्यावसायिक खेती गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘लगाएको दुई वर्षमा नै एक क्विन्टल बढी अलैंची उत्पादन भयो, यसले हामीलाई उत्साहित बनायो ।’

विसं २०७५ मा करिब १६० रोपनी जग्गा खरिद गरी कृषि कर्मको बाटोमा लाग्नुभएका पौडेलले ६० रोपनी क्षेत्रफलमा अलैंचीखेती गर्नुभएको छ । उहाँले अहिले क्षेत्र विस्तार गरेर थप एक लाख अलैंचीका बेर्ना रोप्नुभएको छ । यसबाहेक कालिज, स्थानीय जातका कुखुरा, एभोगाडो, जापानिज कडुस पनि उहाँको फर्ममा देख्न सकिन्छ ।

माछापुच्छ्रे मर्दीखोला अलँंची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दिपक पौडेलले उत्पादित अलैंची ब्लकको समन्वयमा बिर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं. २, ६, ७, ८ र ९ का स्थानीयवासीले व्यावसायिकरूपमै अलैंचीखेती गरेका छन् भने बाँकी वडाका किसानले पनि चासो राख्न थालेका छन् । यस्तै, मादी गाउँपालिकाका वडाहरू १, २, ३, ८, १० र ११, अन्नपूर्ण गाउँपालिकाका वडा १, ३,४, ७, १० र ११ तथा पोखरा महानगरपालिकाका वडा नं. १६ र १९ मा अलैंची क्षेत्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।

ADVERTISEMENT

अहिले गाउँपालिकाबाट मात्रै करिब २५ हजार केजी उत्पादन भएको छ । गाउँपालिकाले अलैंचीबाट वार्षिक दुई करोड ५० लाख भित्र्याएको पौडेलले बताउनुभयो । गाउँपालिकाका केही वडा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वन क्षेत्रमा रुखका हाँगाबिँगा छिमल्दा पनि संरक्षण क्षेत्रबाट समस्या हुने गरेको किसानहरूको गुनासो छ । अलैंची क्षेत्रलाई ध्यान दिएर एक्यापले सहजीकरण गर्नुपर्नेे उहाँको भनाइ छ ।

अलैंचीले रोपेको तीन वर्षबाट उत्पादन दिन थाल्छ । अघिल्लो वर्ष ११ सय प्रतिकेजीमा बिक्री भएको अलैंची अहिले केही मूल्य घटेकाले उचित मूल्यको पर्खाइमा किसान रहेका छन् । भारतीय व्यापारीले अलैंचीको मूल्य निर्धारण गर्ने र त्यसै आधारमा खरिदबिक्री हुने हुँदा मूल्य घटबढ भइरहने हुन्छ । पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुमा अलैंची पनि पर्न थालेको छ । विदेशबाट ठूलो मात्रामा ल्वाङ, सुकुमेलजस्ता मसलाजन्य सामग्री आयात गर्छ । यस भेगमा उत्पादन हुने अलैंचीलाई पनि निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गर्न सहज हुने गाउँपालिका-८ का अध्यक्ष रामबहादुर गुरुङ बताउनुहुन्छ । गाउँलाई कृषिमै आत्मनिर्भर बनाउन ज्ञान केन्द्र र गाउँपालिकाको सहयोगमा वडाका किसानलाई आलुको बीउ पनि निःशुल्क वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत रोशन अधिकारी कास्कीका माछापुच्छ्रे , अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडामा अलैंची खेतीलाई अनुदान दिइएको र त्यसको प्रतिफल पनि राम्रो पाइएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘माछापुच्छ्रे गाउँपालिकामा अलैंचीको व्यावसायिक खेती निकै राम्रो छ, किसानले उत्साहितरूपमा व्यक्तिगत र समूहमा गरेर अलैंचीखेती गरेका छन् ।’ उहाँले क्रमशः अलैंचीखेतीको क्षेत्र विस्तार भएकाले आगामी दिनमा उत्पादन बढ्ने र गाउँ अलैंचीबाटै आत्मनिर्भर हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार अनुदानबाट सिँचाइ र अलैंची सुकाउने आधुनिक भट्टी निर्माणमा ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ भने क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, उपकरण, नर्सरी, अलैंचीको बेर्नालगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको छ । रासस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?