काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । उहाँले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँ पुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।
‘निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुहोस्’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश तपाईंहरूले दिनुपर्यो ।’ उहाँले नेपाली कला क्षेत्रको समस्या समाधानका निमित्त आफू सदैव तयार रहेको बताउनुभयो ।
भेटघाटमा सहभागीहरूले चलचित्र, संगीतलगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए । प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेत्री देउवाले चुनावपश्चात् पनि यस्ता छलफल अझै बढाउने बताउनुभयो । ‘निरन्तर संवादले नै समस्याको हल दिन्छ । हामी आफ्नो कला, संस्कृतिको प्रवद्धन गर्न तत्पर छौँ । छलफलसँगै आउँदो दिनमा निकास दिनेछौँ’, उहाँले भन्नुभयो ।
भेटघाटमा पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो ।







Breaking news with related posts