गाईपालनले बनायो आत्मनिर्भर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

दोधारा चाँदनी । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन ।

केही खर्च गर्नु परे पनि श्रीमान्‌काे तलब कुर्नुपर्ने भएपछि उहाँले गाईपालन गर्ने योजना बनाउनुभयो । भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रु एक लाखमा पाँच गाई खरिद गरेर व्यावसायिक रुपमै गाईपालनमा लाग्नुभएकी उहाँ अहिले लाखौँको कारोबार गर्नुहुन्छ । “श्रीमान् ट्रक चलाउनुहुन्छ सानोतिनो केही खर्च गर्न श्रीमान्‌कै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ”, उहाँले भन्नुभयो, “अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु ।” पाँचवटा गाईबाट सुरुवात गर्नुभएको उहाँले गाईपालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै जानुभयो ।

घर छेउमै वार्षिक एक लाख २० हजारमा दुई बिघा जग्गा भाडामा लिएर घाँसखेती गर्नुभयो । अहिले उहाँको फार्ममा २५ गाई छन् । उहाँले दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्ने गरेको बताउनुभयो । “दूध बिक्री गर्न अत्तरिया बजारसम्म आफैँ स्कुटर चलाएर जाने गर्छु”, उहाँले भन्नुभयो, “स्थानीय बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित सङ्कलन केन्द्रमा पुर्‍याउँछु ।”

ADVERTISEMENT

रु एक लाखबाट सुरु गरेको व्यवसायमा अहिले उहाँले मासिक लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताउनुभयो । “घरमा बिना काम बस्नुभन्दा त केही गरौँ भन्ने आँट गरेर व्यवसाय सुरु गरेकी हुँ अहिले श्रीमान्‌ले पनि सघाउनु हुन्छ”, उहाँले भन्नुभयो, “मासिक १५ हजार तलब दिने गरी दुई कामदार छन् ।” उहाँले फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुने गरेको गुनासो गर्नुभयो । “गाई थप गर्ने योजना थियो एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ”, उहाँले भन्नुभयो, “आँट गरेर केही काम गरे सफल भइने रहेछ ।”

अहिले उहाँले गाईमात्र नभएर बाख्रापालनसमेत गर्नुभएको छ । बाख्रापालनमा समेत राम्रो सम्भावना देख्नुभएका उहाँले बाख्राको आधुनिक खोर निर्माण गरेर बाख्रापालन गर्ने योजना बनाउनुभएको छ । “अहिले २० वटा छन्, पछि बाख्रा थप्ने योजना बनाएकी छु”, उहाँले भन्नुभयो, “हामीले जति मेहनत गरे पनि मूल्याङ्कन हुँदैन ।”

उहाँले गाउँमा दुईचार गाई पाल्नेले सरकारबाट लाखौँको अनुदान लिने गरेको व्यावसायिक रुपमा लाग्नेहरुलाई कतैबाट सहयोग नभएको गुनासो गर्नुभयो । “कृषि काम गर्नेलाई अनुदान दिने कुरा समाचारमा धेरै सुने अहिलेसम्म कतैबाट सहयोग भएन”, उहाँले गुनासो गर्दै भन्नुभयो, “हामी काम गर्नेलाई त वडामा बजेट आएको पनि थाहा हुँदैन ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *