काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिरमा नहुने भएको छ । कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको अवधि चार वर्ष हुने उल्लेख छ । २०७८ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको थियो । विधानबमोजिम २०८२ मंसिरमा नियमित रूपमा कांग्रेस महाधिवेशन हुनुपर्ने हो । चार वर्षमा महाधिवेशन नभएमा कांग्रेस विधानकै विशेष व्यवस्थाअनुसार एक वर्ष म्याद थप गर्न सकिने व्यवस्था छ । संविधानले भने राजनीतिक दलहरूलाई साढे पाँच वर्षभित्र महाधिवेशन गर्नसक्ने प्रबन्ध गरेको छ । यसअघि पनि कांग्रेसले साढे पाँच वर्षमा महाधिवेशन गरेको थियो ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा नजिकिएसँगै विधानले तोकेकै अवधिमा महाधिवेशन गर्ने एजेण्डा ओझेलमा परेको छ । महाधिवेशन २०८२ मंसिरमै गर्ने एजेण्डा महासमिति बैठकमा जोडतोडका साथ उठाए पनि महामन्त्री थापाले पछिल्लो समय यसबारे आफ्नो अडान राख्न छाडेका छन् ।
संस्थापन पक्षका नेताहरू सभापति देउवा र महामन्त्री थापाबीच सहमति हुँदा मात्रै महाधिवेशन टुंगो लाग्ने बताउँछन् । २०८३ असारमा प्रधानमन्त्री बन्ने पर्खाइमा रहनुभएका देउवा त्यसपश्चात् मात्रै महाधिवेशनको मिति तोक्ने तयारीमा हुनुहुन्छ । ‘सभापतिजी प्रधानमन्त्री भएपछि मात्रै कांग्रेसको महाधिवेशन हुने हो । त्यसमा अहिले महामन्त्रीको फरक मत सुन्नुभएको छ र ?’, देउवानिकट एक नेताले भन्नुभयो ।
कांग्रेसकै विधानमा महाधिवेशन हुने वर्षभन्दा एक वर्ष पहिले क्रियाशील सदस्यता टुंगो लागिसक्नुपर्ने व्यवस्था छ । यतिबेलासम्म कांग्रेसले सबै जिल्लामा क्रियाशील सदस्यताको फारामसमेत पुर्याउन सकेको छैन । महाधिवेशनपूर्व संगठनका गतिविधिलाई चुस्त बनाउने भन्दै सयदिने अभियान घोषणा गरिए पनि सबै जिल्लाको सदस्यता वितरण, नवीकरण लगायतका कामले पूर्णता पाउन सकेको छैन । सय दिनका लागि तय गरिएको अभियानमा सोचेअनुरूप काम नभएपछि अभियानको म्याद एक महिना थप गरिएको छ । ‘महाधिवेशन समयमा गर्न क्रियाशील समयमा टुंग्याउनुपर्छ । त्यसका लागि केन्द्रीय सदस्यहरू नै जिल्ला जिल्लामा खटिँदा पनि काम भइरहेको छैन । यसको अर्थ २०८२ मंसिरमा महाधिवेशन हुँदैन भन्ने नै हो’, एक कांग्रेस केन्द्रीय सदस्यले हिमालय टाइम्ससँग भन्नुभयो । महाधिवेशनको प्राविधिक विषय सदस्यता भए पनि नेतृत्वको इच्छाशक्ति मुख्य रहने उहाँको भनाइ छ ।
क्रियाशीलको काम चैतभित्र सक्ने तयारी
कांग्रेसले क्रियाशील सदस्यहरूको टुंगो २०८१ साल चैत मसान्तसम्म टुंगो लगाउने जनाएको छ । महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यताको नवीकरण चैतभित्र टुंग्याउने निर्णय गरेको छ । समितिका सदस्य प्रकाश स्नेहीले सदस्यता नवीकरणमा देखिएका समस्याहरू समाधान गर्दै चैतभित्र क्रियाशील नवीकरण टुंग्याउने जानकारी दिनुभयो । चैत मसान्तमा सदस्यता टुंगो लागे पनि २०८२ मंसिरमा महाधिवेशन हुने सुनिश्चित रहँदैन । वडा तहदेखि नै निर्वाचनको अभ्यास हुने भएकाले सबै प्राविधिक तयारी पूरा हुँदा पनि महाधिवेशनका लागि एक वर्षको समय आवश्यक हुने निर्वाचन समितिका एक सदस्यको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता