काठमाडौं । नेपालमा ‘नयाँ र वैकल्पिक राजनीति’ निकै चलेका शब्दावली हुन् । पुराना दलको विकल्प भन्दै नयाँ आउने क्रम लामै समयदेखि चलेको छ । बेला बेलामा यस्ता शक्तिहरू सतहमा आउँछन् । दशकौँदेखि यो क्रम चलिरहेको छ । तर, यसले न पूर्णता पाएको छ न त रोकिएको नै छ । नेपाली जनताले पटक-पटक वैकल्पिक राजनीतिप्रति विश्वास प्रकट गरेका छन् तर, वैकल्पिक राजनीति गर्नेले जनअपेक्षा पूरा गर्न सकेका छैनन् । नेकपा (एमाले)बाट निष्कासित नेता डा. भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गर्नुभएको छ । रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने वैकल्पिक राजनीतिक शक्ति बनाउने घोषणा गर्नुभएको हो ।
नेपाल प्रजा परिषद् राणा शासनको विकल्पमा देखिएको थियो । नेपाल प्रजा परिषद्कै विकल्पमा नेपाली कांग्रेसको उदय भयो । २०४७ सालमा एमालेले कांग्रेसको विकल्पका रूपमा आफूलाई उभ्यायो । २०५२ मा कांग्रेस एमालेकै विकल्पमा माओवादी जन्मियो । २०६२/०६३ पछि मधेशवादी दल पनि विकल्प बन्दै क्षेत्रीय वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाए । त्यसपछि पनि बेला बेलामा नयाँहरू उदाउने र हराउने क्रम रोकिएको छैन । बेला बेलामा उदाएका वैकल्पिक पार्टीहरू कुनै विलय भएर गए त कुनै खुम्चिने क्रम रोकिएको छैन ।
विवेकशील र नयाँ शक्ति छिन्नभिन्न, रास्वपा रक्षात्मक
दोस्रो संविधानसभा (२०७०) चुनावताका उज्ज्वल थापा (हाल स्व.)सहितले सुरु गरेको विवेकशील दल पनि एक समय वर्तमान राजनीतिको विकल्प भन्दै उदाएको थियो । विरोधको स्वरूप ‘नेपाल बन्द’ गलत भाष्यलाई विवेकशीलले पुनर्विचार गर्न बाध्य बनायो । रञ्जु दर्शनालाई २१ वर्षको उमेरमा नै काठमाडौंको मेयरमा प्रतिस्पर्धा गराएर राजनीतिमा युवा हस्तक्षेप सुरु गरेको दललाई मतदाताले राजनीतिक मूल्य र भूमिका पाउनेगरी मत दिएका थिए । थापाले विवेकशील दल गठन गरेर नयाँ दलको वैकल्पिक भाष्य निर्माण गर्न सहयोग गर्नुभएको थियो । तर, विवेकशील साझा आफैँ छिन्नभिन्न भयो । रवीन्द्र मिश्रसँग एकता गरेर विवेकशील साझा बनेको दल समय क्रमसँगै लगभग हराएको छ । वैकल्पिक राजनीतिको बलियो खम्बाको कल्पना गरिएको पार्टी एकीकरण फुट र पुनः एकीकरण फेरि फुट हुँदै आज अस्तित्व रक्षाको चरम संकटमा छ । अझ मिश्रले आफूलाई राजतन्त्रको पक्षमा लगेपछि यो दल छियाछिया भएको छ ।
माओवादीसँग रुष्ट डा. बाबुराम भट्टराईले २०७३ जेठमा निकै तामझामका साथ पुराना दल र तिनको विकल्पका रूपमा घोषणा गर्नुभएको नयाँ शक्ति पार्टीले आफ्नै अस्तित्व जोगाउन सकेन । अस्तित्व जोगाउन अनेकसँग एकता गर्दै अघि बढेको नयाँ शक्तिले वैकल्पिक राजनीतिको उडान भर्न सकेन । यद्यपि, भट्टराईले अझै पनि वैकल्पिक शक्तिको रटान भने छोड्नुभएको छैन ।
गत चुनावअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलोपटकमै शानदार नतिजा ल्याउन सफल रहृयो । सञ्चारकर्मबाट राजनीतिमा हाम फाल्नुभएका रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते जन्मिएको पार्टीले स्थापनाको ६ महिना नपुग्दै संघीय संसद्मा प्रत्यक्षतर्फ ८ (१ उपचुनाव) र समानुपातिकतर्फ १३ सिट प्राप्त गर्दै संसद्मा राष्ट्रिय मान्यता प्राप्त चौथो ठूलो दलको रूपमा उदायो । तर, एउटा चुनावमा उदाएको रास्वपा अर्को चुनाव नआउँदै विभिन्न विरोधाभाषमा फसेको छ । रास्वपा सभापति लामिछाने ठगीलगायत विभिन्न आरोपमा हिरासत पुगेपछि ‘सबै उस्तै त रहेछन्’ भन्ने भाष्यलाई स्थापित गर्न खोजेको छ । लामिछाने अहिले पनि हिरासतमै हुनुहुन्छ । अझै स्थापनाको केही समयमै दुई/दुईपटक सरकारमा जाने रास्वपाको कदम पनि प्रत्युत्पादक देखियो । अहिले रास्वपा निकै रक्षात्मक बनिसकेको छ । गत मंसिरमा भएको स्थानीय तहको उपचुनावको नतिजाले पनि रास्वपा दुई वर्षमै ओरालो यात्रामा रहेको छनक दिन्छ ।
रास्वपाबाहेक गत चुनावअघि मात्रै गठन भएका जनमत पार्टी, नागरिक उन्मुक्ति र आम जनता पार्टी पनि आफूलाई वैकल्पिक दाबी गर्दै उदाएका थिए । अहिले उनीहरू पनि सेलाएका छन् । एउटा चुनावबाट उदाएका दल अर्को चुनाव नआउँदै बदनाम भइसकेका छन् । आम नागरिकमा राजनीतिप्रति वितृष्णा छ । नागरिकले वैकल्पिक राजनीतिमा समर्थन र आशा गरिरहेका छन् । तर, वैकल्पिक राजनीति अगाडि बढाउने व्यक्तिहरूले विश्वास हासिल गर्न सकेका छैनन् । कुनै नयाँ दल दर्ता गर्दैमा वैकल्पिक राजनीति हुँदैन । पार्टीहरूका कार्यशैली र एजेण्डा नयाँ नभएसम्म वैकल्पिक शक्ति बन्न सक्दैन ।
वैकल्पिक शक्ति आवश्यक छ तर, पुरानै नेताले खोलेर हुँदैन : प्राडा. चापागाईं
राजनीतिक विश्लेषक प्राडा. राजेन्द्र चापागाईं नेपालमा वैकल्पिक राजनीतिको बहस धेरै पहिलादेखि भइरहेको स्मरण गर्नुहुन्छ । तर, आफूलाई वैकल्पिक भन्दै आएकाहरू कुनै पनि टिक्न नसकेको उहाँले बताउनुभयो । वैकल्पिक शक्ति आवश्यक भए पनि कुनै पुराना नेताले नयाँ दल खोलेर त्यो विकल्प हुन नसक्ने उहाँको भनाइ छ । ‘वैकल्पिक पार्टी बनाउने रहर धेरै गरे । बहुदल आएपछि टंक कार्की र देवेन्द्र के पाण्डेले असन्तुष्टि राखेर पार्टी बनाएका थिए । २०५१ सालको चुनावमा हात लाग्यो शून्य । त्यसपछि वामदेव पनि कस्सिए । तर, भएन । मधेशीको त कुरै नगरौँ । कति आए/गए,’ उहाँले भन्नुभयो, ‘बाबुराम त बौद्धिक व्यक्ति केही गर्लान् कि भन्ने थियो । तर, विलय भयो । विवेकशील कहाँ पुग्यो ?’ रास्वपा सैद्धान्तिक रूपमा पार्टी नै बनिनसकेको उहाँले टिप्पणी गर्नुभयो । रास्वपाले वितृष्णका मत मात्रै कलेक्सन गर्ने काम गरेको उहाँको टिप्पणी छ । ‘रास्वपा सैद्धान्तिक रूपमा नै होइन । वितृष्णा कलेक्सन गर्ने पार्टी हो । राष्ट्रिय ओज लिन सक्छ जस्तो लाग्दैन,’ उहाँले भन्नुभयो, ‘वैकल्पिक शक्ति आवश्यकता त हो । एउटा वैकल्पिक शक्ति चाहिन्छ । तर, त्यो पुरानै नेताले खोलेर हुँदैन । रास्वपा अनटेस्टेट थियो । तर, नेतृत्व नै दाग बोकेर आएको रहेछ । दाग नभएको प्रागिक नेतृत्व आयो भने त्यसले केही गर्न सक्थ्यो कि ।’
नयाँ आएका सबै सत्तामा गएर बिग्रिए : ढकाल
राजनीतिक विश्लेषक लोकेश ढकाल नेपालमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताउनुहुन्छ । तर, विकल्प भनेर आएकाहरूले त्यो आवश्यकता पूर्ति गर्न नसकेको उहाँले बताउनुभयो । वैकल्पिक शक्ति भनेर आएकाहरू सत्ता र शक्तिमा केन्द्रित हुँदा विकल्प बन्न नसकेको उहाँको भनाइ छ । ‘नेपालमा वैकल्पिक शक्तिको खाँचो छ । लोकतान्त्रिक पद्धतिमा नयाँ दल आउनुपर्छ । आइरहेका पनि छन् तर, ती जति आए सबै सत्ता केन्द्रित भए,’ उहाँले भन्नुभयो, आएको पाँच वर्ष सदन र सडकमा टिक्न सकेनन् । सबैलाई सत्ता नै चाहिने । रास्वपा आयो उसलाई सत्ता नै चाहियो । सत्तामा गएर सकिए । ठूला दल लामो संघर्ष गरेर स्थापित भएका दल हुन् । यिनको विकल्प चानचुने हुनै सक्दैन ।’ पुरानालाई गाली मात्रै गरेर कोही वैकल्पिक शक्ति हुन नसक्ने उहाँले बताउनुभयो । राजनीतिमा आएर केही समय सत्ता र शक्ति नभनी टिक्न सक्नुपर्ने उहाँको सुझाव छ । भीम रावलले प्रजातान्त्रिक दल ल्याउने चर्चा सुनिएको भन्दै त्यसको भने उहाँले स्वागत गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता