काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बाससँगको भेटवार्तामा उहाँले दुई देशबीच ६५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच भएको कृषि क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गर्नुभयो ।
मन्त्री अधिकारीले नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसर सिर्जना गरेको भन्दै त्यसलाई पुनः निरन्तरता दिन पनि आग्रह गर्नुभयो । इजरायलले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको भन्दै उहाँले नेपालको कृषि विकासका लागि इजरायलसँगको सम्झौताअनुरूप सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि क्षेत्रहरूको छनोट भइसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदूतसँग आग्रह गर्नुभयो । करिब पाँच हजार नेपालीहरू हाल इजरायलमा कार्यरत रहेको र त्यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गर्नुभयो ।
राजदूत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत् आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताउनुभयो । यसै वर्ष नेपालले छनोट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने पनि उहाँले प्रतिबद्घता व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदूत बासले कृषि क्षेत्रको विकासका लागि विगतमा दुर्ई देशबीच भएका सहमति कार्यान्वयनमा ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभएको कृषि मन्त्रीको सचिवालयले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा