काठमाडौं । चलचित्र ‘कुस्ती’को घोषणा गरिएको छ । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ घोषणा गरिएको हो । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको सार्वजनिक पोष्टरमा धीरज मगर र मिरुना मगर हुनुहुन्छ । पोष्टरमा लाइट ग्रीन र लाइट पिङककोको प्रयोग गरिएको छ । चलचित्रमा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि अभिनय रहनेछ ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा बन्ने यो चलचित्रमा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताउनुभयो । ‘उहाँहरू एकअर्कालाई धेरै माया गर्छन् तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइकको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयाश रहनेछ,’ उहाँले भन्नुभयो ।
कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताउनुभयो । ‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रूपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौं,’ उहाँले भन्नुभयो । उहाँले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा ‘कुस्ती’ रहेको बताउनुभयो ।






