चितवन । तेह्र बुँदे चितवन घोषणा-पत्र जारी गर्दै चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ ।
घोषणा पत्रमा चलचित्र पत्रकार तथा चलचित्र पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउनेसहितका विषय समेटिएका छन् । सल्लाहकार समिति, पूर्वअध्यक्षहरू, सबै विभाग तथा जिल्ला अध्यक्षसहितको तीन दिने पूर्ण बैठक सञ्चालन गरेको थियो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले आवश्यक रहेका विभिन्न विभागको गठन गर्ने तथा विभागमा सबैलाई समेटेर लैजाने र सबैको सरसल्लाहबाट विभिन्न प्रस्तावलाई सामूहिकतामा निर्णय गर्दै चलचित्र पत्रकार संघलाई अझ अगाडि बढाउने ढंगले यो अभियानको थालनी गरिएको जिकिर गर्नुभयो ।
बैठक श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित घोषणापत्र जारी गर्दै सम्पन्न भएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिनुभयो । बैठकले महत्वपूर्ण विषयमाथि छलफल गर्दै निर्णय पनि गरेको छ । संघले हरेक वर्ष जेठ ७ गते स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । उक्त अवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ । उक्त सम्मान र पुरस्कारका लागि संघले पाँचौं पूर्ण बैठकबाट कोष खडा गर्ने निर्णय गरेको छ ।
महासचिव सापकोटाका अनुसार बैठकले संघको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको छ । उहाँका अनुसार बैठकका क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तक्र्रिया गरिएको थियो । मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरूको सम्बन्ध विषयमा सञ्चालन गरिएको अन्तक्र्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, देशभरबाट प्रतिनिधित्व हुनेगरी ५० जना चलचित्र पत्रकार, चितवनका सिनेमा हल सञ्चालकहरूको सहभागिता थियो । अन्तक्र्रियामा बोर्ड अध्यक्षले आफूले सय दिनमा गरेका कामहरूको बारेमा जानकारीसमेत गराउनुभएको थियो । कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हल सञ्चालकहरूको विषयमा पनि छलफल गरिएको थियो । बैठकपछि जारी गरिएको घोषणा-पत्रको तयारी समिति संयोजकमा पत्रकार डब्बु क्षेत्री रहनुभएको थियो । उहाँलाई सदस्यहरूले घोषणा–पत्र तयार पार्न सहयोग गरेका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता