
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै युट्युबमा तहल्का मच्चाएको छ । यो गीत हाल नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ । यो गीत नेपालको युट्युबमा ट्रेन्डिङको यात्रामा पहिलो स्थानमा पुगेको छ ।
नेपालमा मात्र नभई माल्टामा पहिलो, कतारमा दोस्रो, अष्ट्रेलिया र युएईमा पाँचौं तथा कुवेतमा उन्नाईसौं स्थानमा रहेर यो गीतले नेपाली चलचित्रप्रतिको विश्वव्यापी चासोलाई झल्काएको छ । यी सबै मुलुकहरूमा नेपालीहरूको संख्या व्यापक रहेको छ र प्रवासमा रहेका नेपालीहरूको यो चासोले यस चलचित्रको विदेश रिलिज व्यापक हुने अनुमान गरिएको छ ।
गत बिहीबार साँझ रिलिज भएको यो गीत दश लाख बढी पटक युट्युबमा हेरिएको छ भने टिकटक र फेसबुक रिल्समा लाखौं युजरले यसको भिडियो बनाएका छन् । गीतको टिजर नै केही दिनअघि सार्वजनिक हुँदा दर्शकहरूको अत्यधिक रुचि पाएको थियो । यसबाट दर्शकहरूले चलचित्र हेर्न व्यग्र प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेको निर्देशक नवीन चौहानले बताउनुभयो ।
यो गीतले नेपाली लोक संगीतको चर्ची ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पाँचथर र नेपाल-भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो चलचित्रका गीत तथा दृश्यहरूले दर्शकको मन जितिरहेका छन् ।
‘मखमली’ गीतमा सुजन चापागाईं र सुनिता थेगिमको स्वर छ । हर्क साउदको शब्द रचना, सुजन चापागाईंकै संगीत र कोविद बज्रको संगीत निर्माण छ । दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सनविक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।
‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रालिको निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गर्नुभएको हो भने सुरज कटुवालको सहलेखन छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपांगी मगरलगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच