मुम्बई । बलिउड सुपरस्टार सलमान खान एक्सन अवतारमा देखिनुभएको छ । उहाँ चलचित्र ‘सिकन्दर’को सार्वजनिक टिजरमा एक्सन अवतारमा देखिनुभएको हो । शुक्रबार उहाँको ५९औं जन्मदिनमा चलचित्रको टिजर रिलिजको तयारी गरिएको थियो । तर, भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण पोस्टपोण्ड भएको टिजर शनिबार सार्वजनिक गरिएको छ ।
एक मिनेट ४१ सेकेण्ड लामो टिजरमा सलमान एउटा अँध्यारो कोठाभित्र छिरेपछि मूर्तिजसरी उभिएका केही मुकुण्डोधारी व्यक्तिहरू बन्दुक तेर्साउँदै उहाँमाथि आक्रमण गर्न खोज्छन् । त्यहीबेला सलमानको भ्वाइस ओभर आउँछ, ‘धेरै मानिसहरू मेरोपछि लागेका छन् भन्ने सुनेको छु । मात्र म फर्किन बाँकी छ ।’ त्यसपछि उहाँ एक्सनमा उत्रिनुहुन्छ ।
एआर मुर्गदासले ‘सिकन्दर’को लेखन तथा निर्देशन गर्नुभएको हो । यसमा सलमानको जोडी अभिनेत्री रश्मिका मन्दानासँग बाँधिएको छ । तर, टिजरमा भने उहाँलाई देखाइएको छैन । सन् २०२५ को इदमा रिलिज हुन लागेको ‘सिकन्दर’मा सलमान र रश्मिकासहित सुनील शेट्टी, काजल अग्रवाल, सत्यराज, शर्मन जोशी, प्रतीक बब्बरलगायतको अभिनय छ । चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्नुभएको हो ।






