पाल्पा । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । पुसभित्रै ‘ब्रेक थ्रु’ गर्नेगरी योजनाको काम धमाधम भइरहेको हो । आयोजनाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार अहिलेसम्म भौतिक प्रगति ३९ प्रतिशत भएको छ । जसअन्तर्गत सुुरुङमार्गको तीनवटै बाइपासको ‘ब्रेक थ्रु’ भएको छ ।
कुल तीनवटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भएको हो । भदौ २६ गते तेस्रो, असोज ४ गते पहिलो र पुस ७ गते दोस्रो बाइपासको ‘ब्रेक थ्रु’ भएको आयोजनाले जनाएको छ । १५१ मिटर लम्बाइ रहेको पहिलो, १३० मिटर लम्बाइ भएको तेस्रो र १६१ मिटर लम्बाइ रहेको दोस्रो बाइपासको सुरुङ छिचोलिएर सकिएको हो । मुख्य सुरुङको ब्रेक थु्र भने यही पुसभित्र गर्ने गरी काम धमाधम भएको आयोजनाकी इञ्जिनियर सविता ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार मुख्य टनेलको ६६ मिटर मात्रै खन्न बाँकी रहेको छ । अहिलेसम्म एक हजार २३ मिटर सुरुङ खनिएको उहाँले जानकारी दिनुभयो । इञ्जिनियर ज्ञवालीले कुनै समस्या नभए पुस महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्न समस्या नहुने बताउनुभयो । यहाँ एक हजार १२६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ ।
मुख्य सुरुङको दुवै तर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमी पहिरो आउने क्षेत्रभित्र पर्छ । पाँच वर्षभित्र निर्माण सक्नेगरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । यसको समयावधि ०८३ फागुनसम्म छ ।
आयोजनाले भित्र काम भइरहेकाले बाहिरको काम गरेको छैन । मुख्य सुरुङको ‘ब्रेक थ्रु’ पछि ढलान र सडक बनाउन सुरु गरिनेछ । सुरुङ बाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ । बाटो फराकिलो पार्ने, सुरुङमार्गभन्दा दक्षिणतर्फको सडकलाई सुरक्षित बनाउन रक सेड र सडकको डिजाइनको काम गर्ने, सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम अब छिट्टै हुने इञ्जिनियर ज्ञवालीले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता