कालीकोट । कालीकोटको पचालझरना गाउँपालिका वडा नम्बर ८ चाटेबगरस्थित कर्णाली नदीमा डोजर पार गर्ने क्रममा पल्टिँदा डोजर चालक एक जना नदीमा बेपत्ता भएका छन् ।
शुक्रबार बेलुकी ५ बजेतिर डोजरलाई कर्णाली पार गर्ने क्रममा पल्टिएपछि पचालझरना गाउँपालिका- ८ स्थित कुस्माखर सञ्ज्याल बेपता भएका हुन् ।
डोजर चाटेबगरबाट नदीमा तारेर वडा नम्बर- ४ मा लैजानेक्रममा नदीमा पल्टिएको खबर प्राप्त भएको छ । चाटेबगरदेखि पचालझरना- ४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि चालकसँगै रहेका निर्माण व्यावसायीका प्रतिनिधि कुस्माखर सञ्ज्याल बेपत्ता भएका हुन् ।
कर्णाली नदीमा स्काभेटर मेसिनसहित एकजना मान्छे बेपत्ता भएको पचालझरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बमले बताउनुभयो । कर्णाली नदीमा डोजर पल्टिएपछि नदीमा तैरीरहेका चालकलाइ भने स्थानीयको सहायतामा उद्वार गरिएको हो ।
उनी सँगैका अर्का पचालझरना- ८ का कुस्माखर सञ्ज्याल भने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । खाँडाच्रक- ८ का डोजर चालक बर्ष ३१ का नमराज मल्ललाई सकुशल उद्वार गरिएको छ । पचालझरना ८ खडतोलीका अन्दाजी बर्ष ४० का कुस्माखर सञ्ज्यालको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोवीन्द्र चौधरीले जानकारी दिनुभयो ।






