पाल्पा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । पुसभित्रै ‘ब्रेक थ्रु’ गर्ने गरी योजनाको काम धमाधम भइरहेको हो ।
आयोजनाले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार अहिलेसम्म भौतिक प्रगति ३९ प्रतिशत भएको छ । जस अन्तर्गत सुुरुङमार्गको तीनवटै बाइपासको ‘ब्रेक थ्रु’ भएको छ । कुल तीन वटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भएको हो । भदौ २६ गते तेस्रो, असोज ४ गते पहिलो र पुस ७ गते दोस्रो बाइपासको ‘ब्रेक थ्रु’ भएको आयोजनाले जनाएको छ । १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो, १ सय ३० मिटर लम्बाइ भएको तेस्रो र १ सय ६१ मिटर लम्बाइ रहेको दोस्रो बाइपासको सुरुङ छिचोलिएर सकिएको हो । मुख्य सुरुङको ब्रेक थु्र भने यही पौषभित्र गर्ने गरी काम धमाधम भएको आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार मुख्य टनेलको ६६ मिटर मात्रै खन्न बाँकी रहेको छ । अहिलेसम्म १ हजार २३ मिटर सुरुङ खनिएको उहाँले जानकारी दिनुभयो । इन्जिनीयर ज्ञवालीले कुनै समस्या आइनपरे पुस महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्न समस्या नहुने बताउनुभयो । यहाँ १ हजार १ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ ।
मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । यसको समयावधि ०८३ फागुनसम्म छ ।
आयोजनाले भित्र काम भइरहेकाले बाहिरको काम गरेको छैन । मुख्य सुरुङको ब्रेक थ्रु पछि ढलान र सडक बनाउन सुरु गरिनेछ । सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ । बाटो फराकिलो पार्ने, सुरुङमार्गभन्दा दक्षिणतर्फको सडकलाई सुरक्षित बनाउन रक सेड र सडकको डिजाइनको काम गर्ने, सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम अब छिट्टै हुने इन्जिनीयर ज्ञवालीले बताउनुभयो ।






