✍️ ललितकुमार यादव
मिथिला चित्रकला केवल एउटा कलात्मक अभिव्यक्ति मात्र होइन । यो मिथिला क्षेत्रको इतिहास, संस्कृति, र सामाजिक जीवनसँग जोडिएको छ । यसको संरक्षण र प्रवद्र्धनले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई मात्रै जीवन्त राख्दैन, समुदायलाई आर्थिक रूपमा सशक्त समेत बनाउँछ । परम्परा र आधुनिकताबीचको सन्तुलन कायम राख्न सकेमा मात्रै मिथिला चित्रकलालाई भविष्यका पुस्ताहरूको लागि जीवित राख्न सकिन्छ । एक पुस्ताबाट अर्को पुस्तामा हाम्रो कला र संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी हाम्रै हो । अतः मिथिला चित्रकलाको महत्वलाई बुझेर यसको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न हरेक तहबाट कदम चालिनुपर्छ ।
मिथिला चित्रकला मिथिला क्षेत्रको जीवनशैली, परम्परा र सांस्कृतिक सम्पदाको अभिन्न हिस्सा हो । यसले धार्मिक, सांस्कृतिक र सामाजिक सन्देश प्रवाह गरेको छ । यसले मिथिला क्षेत्रको कला र संस्कृतिको प्रतिनिधित्व मात्रै गरेको छैन्, विश्वसामु मिथिलाको पहिचान बनेको छ । यसले केवल मिथिला क्षेत्रलाई मात्र नभई सम्पूर्ण देशलाई सांस्कृतिक रूपमा धनी बनाएको छ । आजको आधुनिक युगमा महत्व घटेको छैन, बरू महत्व झन् बढ्दो छ ।
पृष्ठभूमि (परिचय) :
मिथिला चित्रकला मूलतः लोककला हो । मैथिली भाषीहरूका बीचमा पाइन्छ । कलामा धनी मिथिला क्षेत्रको समृद्धि भाषा, चाडपर्व, धार्मिक अनुष्ठान, रहनसहन र चित्रकलामा पाउन सकिन्छ । मिथिला लोकचित्र सामान्यतः पूजा, बिहे, व्रत–त्योहार आदिमा बनाउने चलन थियो । सुरुवातमा यो कला ग्रामीण क्षेत्रका महिलाले घर, पर्खाल, भुइँ र आँगनमा माटो, पिठो, गोबर आदिले बनाउने गर्थे ।
महिलाले आफ्नो मनमा उठेका स्वभाविक कल्पना तथा उद्वेगलाई पनि ती चित्रमार्फत व्यक्त गर्ने गर्थे । यसै परम्पराबाट विकसित हुँदै मिथिला लोकचित्रले केही आधुनिक स्वरूप ग्रहण गर्यो । जसलाई मिथिला चित्रकला भनिन्छ ।
मिथिला चित्रकला सदियौंदेखि आमसमुदायको संस्कारसँग नजिकबाट जोडिएको छ । यो परम्परा हिजो पनि थियो र आज पनि छ । शताब्दीऔं अघि घरआँगन सुन्दर र आकर्षक बनाउन भुइँ र भित्तामा पोतिने चित्रकला आजको आधुनिक समाजमा कागज र क्यानभासमा कोरिन थालिएको छ ।
मिथिला विभिन्न पर्व, अवस्था र इतिहासलाई रंगहरूले सजाई रेखाचित्र जस्तो स्वरूपमा घर, पर्खाल, मन्दिर, सार्वजनिक स्थलाका भित्ताहरूमा कोरिने चित्र मिथिला लोकचित्र हुन् । मिथिला चित्रकला आफ्नो सांस्कृतिक, धार्मिक र सामाजिक पक्षहरूका लागि अद्वितीय छ । मिथिला क्षेत्रमा पल्लवित हुँदै मिथिला चित्रकलाको विकास भएको हो । आज विश्वमै एक अलग पहिचानका साथ स्थापित छ । भारतमा मिथिला चित्रकलालाई ‘मधुवनी कला’ नामले पनि सम्बोधन गरिन्छ ।
मिथिला चित्रकला सदियौंदेखि आमसमुदायको संस्कारसँग नजिकबाट जोडिएको छ । यो परम्परा हिजो पनि थियो र आज पनि छ । शताब्दीऔं अघि घर आँगन सुन्दर र आकर्षक बनाउन भूइँ र भित्तामा पोतिने चित्रकला आजको आधुनिक समाजमा कागज र क्यानभासमा कोरिन थालिएको छ । सदियौँदेखि महिलाले गर्दै आइरहेको कला आयसँग जोडिएको छ । यसले महिला स्वतन्त्रतालाई बल पु¥याएको छ । आत्मसम्मान बढाएको र आर्थिक रूपले बलियो बनाएको छ ।
ऐतिहासिकता :
मिथिला लोकचित्र परम्पराको इतिहास कम्तीमा पनि पाँच हजार वर्ष पुरानो रहेको संस्कृतिविद्को भनाइ छ । मिथिला लोकचित्रको उत्पत्ति प्राचीन मिथिला राज्यमा भएको मानिन्छ । मिथिला लोकचित्रको सुरुवात राजा जनकका पुर्खाले गरेका थिए । मुख्यतः ग्रामीण महिलाहरूले आफ्नो घरको भित्तामा चित्र बनाउने परम्पराका रूपमा सुरु भएको थियो । उक्त चित्रकलालाई पछि राजा जनकले परिष्कृत गरी विकास गर्न लगाए । यस कला शैलीको उत्पत्ति हिन्दू धर्मका पौराणिक कथाहरूसँग गहिरो रूपमा जोडिएको छ ।
प्राचीन कालमा नेपालको जनकपुर सम्भवतः मिथिला कलाको केन्द्र रहेको हुनुपर्छ । राजा जनकले छोरी सीतासँग विवाह गर्न आएका रामलाई स्वागत गर्न जनकपुरका भित्ताहरूमा मिथिला लोकचित्र बनाउन लगाएको किंवदन्ती छ । मिथिला लोकचित्र विकसित हुँदै जाँदा मिथिला क्षेत्रमा रहेका देवीदेवता, राजा-महाराजा, परम्परा, दैनिक जीवन, राजनीतिक, आर्थिक एवं सामाजिक मनोभावनालाई चित्रमा उतार्ने प्रयास गर्दै गएको पाइन्छ ।
यद्यपि यो चित्रकलाले आधुनिक कला बजारमा प्रवेश पाउन २०औं शताब्दीको मध्यतिर मात्र सफल भयो । प्रारम्भमा यो कला मुख्यतः महिलाहरूले घरका भित्ता र आँगन सजाउन बनाउने गर्थे । यसमा प्राकृतिक रंगको प्रयोग गरिन्थ्यो र विषयवस्तु मुख्यतया धार्मिक, सामाजिक परम्परा तथा मिथिला जनजीवनसँग सम्बन्धित हुन्थे ।
मौलिकता :
मिथिला चित्रकलाले मिथिला सभ्यताको मौलिकतालाई धानेको छ । मिथिला चित्रकला जसको छुट्टै मौलिकता छ । मानवीय अनुभूति अर्थात रूपचित्र यस शैलीअन्तर्गत पर्दछन् । प्रतीकात्मक र सांकेतिक बिम्बहरूकै समष्टि मिलन रेखाबाट यस चित्रकलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्दछ ।
कलात्मक विशेषता :
मिथिला चित्रकलाको विशिष्टता यसको रंग, योजना, शैली र सामग्रीमा छ । यो चित्रकला साधारणतया हातले बनाइन्छ र प्राकृतिक रंगहरूको प्रयोग गरिन्छ । रंगहरू बनाउने क्रममा फूल, पात, माटो, कोइला र चन्दनजस्ता जैविक वस्तुहरूको प्रयोग गरिन्छ । चित्रकलाको प्रत्येक पाटोमा प्रतीकात्मकता पाइन्छ । उदाहरणका लागि, माछा प्रजनन् र उर्वरताको प्रतीक हो भने सूर्य जीवनशक्तिको प्रतीक मानिन्छ ।
मिथिला चित्रकला सामान्यतया दुई प्रकारका हुन्छ :
१. भित्ते चित्रकला : यो परम्परागत रूपमा घरका भित्तामा बनाइन्छ ।
२.कागज वा कपडामा आधारित चित्रकला ः यो व्यापारिक रूपमा प्रयोग हुने स्वरूप हो ।
रचनात्मक शैलीमा ज्यामितीय आकृति, ठूला आँखाहरू र प्रकृतिका रूपहरूको प्रयोगले यसलाई अद्वितीय बनाएको छ ।
शैली :
मिथिला चित्रकलाको मुख्य विशेषता यसको सरलता र परिष्कृत डिजाइन हो । यसलाई कागज, कपडा या भित्तामा बनाइन्छ र यसको चित्रणमा प्राकृतिक रङहरू प्रयोग गरिन्छ । सामान्यतया, यसमा प्रकृतिका तत्वहरू, देवी–देवता, जनावर, फूल र जटिल ज्यामितीय ढाँचाहरू चित्रण गरिन्छ । मिथिला चित्रकला दुई प्रमुख प्रकारमा पाइन्छ :
१.कचनी शैली : जसमा कालो रङले केवल रेखाचित्र बनाइन्छ ।
२.भरनी शैली : जसमा चम्किला रङहरूको प्रयोग गरी चित्रलाई जीवन्त बनाइन्छ ।
धार्मिक र आध्यात्मिक तत्व :
मिथिला चित्रकलाले हिन्दू धर्मका विभिन्न पक्षलाई समेटेको छ । यसमा रामायण र महाभारतका कथा, देवी–देवताका चित्रण, र धार्मिक अनुष्ठानहरूको झलक पाइन्छ । शिव, पार्वती, राम, सीता, र कृष्णजस्ता पात्रहरूले यस कलालाई धार्मिक, आध्यात्मिक रूपमा महत्वपूर्ण बनाएका छन् । मिथिला चित्रकलामात्र कलाको माध्यम होइन; यो एक भक्तिपूर्ण कार्य पनि हो, जसले कलाकारलाई आध्यात्मिक शान्ति र आनन्द प्रदान गर्छ ।
सांस्कृतिक महत्व :
मिथिला चित्रकला केवल कला होइन, यो मिथिला क्षेत्रको सांस्कृतिक पहिचान हो । यो चित्रकला महिलाहरूको प्रमुख सृजनात्मक विधि हो, जसले उनीहरूको जीवनशैली, परम्परा, र मान्यतालाई झल्काउँछ । विवाहमा ‘कोहबर’ चित्र बनाउने परम्परा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण छ । यस चित्रले प्रेम, उर्वरता र समृद्धिलाई प्रतिनिधित्व गर्छ ।
सौन्दर्यशास्त्रीय महत्व :
मिथिला चित्रकला सौन्दर्यशास्त्रको दृष्टिले अत्यन्त समृद्ध छ । यसको ज्यामितीय डिजाइन, रंगहरूको संयोजन र कथा भनाइको शैलीले यसलाई अन्य कलाहरूभन्दा विशिष्ट बनाएको छ । यो कला केवल सौन्दर्य प्रदान गर्नमात्र होइन, मानव जीवनको विभिन्न आयामलाई झल्काउन पनि प्रयोग गरिन्छ ।
आर्थिक महत्व :
मिथिला चित्रकला केवल सांस्कृतिक पहिचानको साधनमात्र नभई आर्थिक विकासको साधन पनि बनेको छ ।
१.व्यावसायीकरण : परम्परागत रूपमा घरका भित्तामा बनाइने चित्रहरू अब कागज, कपडा, काठ, र सिरेमिक वस्तुहरूमा पनि बनाइन्छन् । यसले बजारमा यसको माग बढाएको छ ।
मिथिला चित्रकलामा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । परम्परागत रूपमा, यो कला महिलाबाट घरका भित्ताहरू सजाउनका लागि विकास भएको थियो । यसले महिलाहरूको सिर्जनशीलता, सामुदायिक भावना र उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्याएको छ । आज पनि यो कला मिथिला क्षेत्रका महिलाहरूको आयस्रोत बनेको छ ।
२.पर्यटन र निर्यात : मिथिला चित्रकलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्दै आएको छ । विशेषगरी नेपाल र भारतको सीमाक्षेत्रका बजारमा यो कलाले प्रगति गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको निर्यातले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाएको छ ।
पर्यावरणीय महत्व :
मिथिला चित्रकला निर्माणमा प्राकृतिक रंग र परम्परागत उपकरणहरूको प्रयोग गरिन्छ, जसले यो पर्यावरणमैत्री कला बनाएको छ । मिथिला चित्रकारहरूले प्लास्टिक र रासायनिक रंगहरूको सट्टा जैविक र पुनः प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग गरेर वातावरणीय सन्देश पनि प्रवाह गर्छन् ।
शैक्षिक महत्व :
मिथिला चित्रकलाको शिक्षामूलक महत्व पनि कम छैन । यस कलाले विभिन्न पौराणिक कथा, परम्परा र मूल्य प्रणालीलाई युवा पुस्तामा हस्तान्तरण गर्ने माध्यमको काम गर्छ । यसले विद्यार्थीहरूलाई आफ्नो इतिहास, कला र संस्कृतिप्रति गर्व गर्न सिकाउँछ । साथै, आधुनिक कला शिक्षामा पनि मिथिला चित्रकलाको अध्ययनलाई प्राथमिकता दिइएको छ ।
समकालीन परिप्रेक्ष्य :
समकालीन समयमा मिथिला चित्रकला केवल परम्परागत सन्दर्भमा सीमित छैन । यसले विश्वव्यापी पहिचान हासिल गरेको छ । धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा यो चित्रकला प्रदर्शन हुने गरेको छ । यसका अतिरिक्त, मिथिला चित्रकलालाई संरक्षण गर्न सरकार, गैरसरकारी संस्था र विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि पहल गरेका छन् । कलाको डिजिटाइजेसन र आधुनिक प्रविधिको उपयोगले यसलाई नयाँ पुस्तामा आकर्षक बनाएको छ ।
महिलाहरूको सहभागिता :
मिथिला चित्रकलामा महिलाको भूमिका महत्वपूर्ण छ । परम्परागत रूपमा, यो कला महिलाबाट घरका भित्ता सजाउनका लागि विकास भएको थियो । यसले महिलाको सिर्जनशीलता, सामुदायिक भावना र उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान पु¥याएको छ । आज पनि यो कला मिथिला क्षेत्रका महिलाहरूको आयस्रोत बनेको छ ।
चुनौती :
मिथिला चित्रकला संरक्षणका लागि विभिन्न चुनौती छन् ।
१.आधुनिकता र परम्पराको द्वन्द्व : आधुनिक जीवनशैली र प्लास्टिक रंगहरूको आगमनले परम्परागत कला शैलीलाई असर पु¥याएको छ ।
२. युवा पुस्तामा चासोको कमी : वर्तमान पुस्ताले यो परम्परागत कलालाई व्यावसायिक दृष्टिकोणबाट हेर्न थालेको छ जसले यसको मौलिकता हराउने खतरा छ ।
३. सहयोग र प्रवद्र्धनको अभाव : स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरूबाट पर्याप्त सहयोगको कमीका कारण मिथिला चित्रकारहरूले आर्थिक कठिनाइ झेल्नुपरेको छ ।
संरक्षणका उपाय :
मिथिला चित्रकलाको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न उपाय अपनाउन सकिन्छ :
४. शिक्षा र तालिम : विद्यालयस्तरदेखि नै मिथिला चित्रकलाको महत्व र यसका आधारभूत सीप पढाइमा समावेश गरिनुपर्छ ।
५. आर्थिक सहयोग : मिथिला चित्रकारको आर्थिक अवस्थालाई सुधार्न सहकारी संस्था र माइक्रोफाइनान्स योजनाको विकास गरिनुपर्छ ।
६. अन्तर्राष्ट्रिय प्रदर्शनी : मिथिला चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न कला प्रदर्शनी र कार्यशालाहरू आयोजना गरिनुपर्छ ।
७. डिजिटल प्रविधिको प्रयोग : मिथिला चित्रकलालाई डिजिटल प्लेटफर्महरूमा प्रवद्र्धन गरेर विश्वव्यापी बजारमा पुर्याउन सकिन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता