हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा प्रशासनिक कामका लागि इलाका प्रशासन कार्यालयदेखि विभिन्न संघ संस्था, बैक वित्तीय संस्था समेत छन् । यतिबेला पालिका केन्द्र रहेको सर्केगाडमा यहाँका नागरिकले टेलिफोन, विद्युत, खानेपानीलगायतका समस्या भोग्नु परेको छ ।
सदरमुकाम सिमकोट पछिको सर्केगाडमा यतिबेला दश दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । पालिका केन्द्र सर्केगाडमा बस्दै आएका नागरिकले विद्युत सेवा नभएको बताउने गरेका छन् । सर्केगाड-५ गोठी गाउँमा रहेको च्याछरा लघु जलविद्युत अवरुद्ध हुँदा यहाँका नागरिकले अध्यारोमा रात कटाउँदै आउनु परेको छ । पचास किलोवाट क्षमता रहेको उक्त जलविद्युत अवरुद्ध हुँदा मैनबत्ती (टुक्की) र सल्लाको दियालो बालेर रात कटाउँदै आउनु पर्ने बाध्यता रहेको सर्केगाडमा व्यवसाय गर्दै आउनुभएका निर्मला शाहीले गुनासो पोख्नुभयो । शाहीले भन्नुभयो, “यहाँ विद्युत अवरुद्ध भएको दश दिनभयो । रातीको समय टुक्की बालेर खाना खानुपर्छ, ग्राहकलाई पनि अध्यारोको भरमा खाना खुवाउनु पर्छ ।” विद्युत नहुँदा निकै समस्या भएको उहाँले बताउनुभयो ।”
सर्केगाडको गोठी, सर्केगाड, बराईलगायत वडाका बासिन्दाले यो विद्युत सेवा उपभोग गर्दै आएका छन् । भने उनीहरुले अन्धकारमा रात कटाउँदै आउनु परेको गुनासो पोखेका छन् । सेवा अवरुद्ध हुँदा यहाँ रहेका बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, विभिन्न संघ संस्था, विद्यालय, स्वास्थ्य चौकीमा समेत समस्या बनाएको छ ।
विद्युत सेवा अवरुद्ध हुँदा सबैभन्दा बढी यहाँका विद्यार्थीलाई समस्या बनाएको छ । यो समय वार्षिक परिक्षा चलिरहेकाले रातीको समयमा पठनपाठनका लागि विद्युत नहुँदा पढ्न नपाएको विद्यार्थीको गुनासो छ ।
यस्तै तीनवटा वडामा रहेका स्वास्थ्य संस्थालाई समेत समस्या बनाएको छ । यसैगरी यहाँका नागरिकले पुरानो सल्लाहको दियालो बालेर रात कटाउनु परेको छ । विद्युत नहुँदा सल्लाको दियालोका साथै टुक्की बालेर रात कटाउनु परेको जनगुनासो छ ।






