पाल्पा (रामपुर) । गृहमन्त्री रमेश लेखकले मुलुकमा जतिसुकै ठूलो मान्छे भए पनि अपराध गरेको छ भने कानुन अनुसार अनुसन्धान हुने बताउनु भएको छ ।
बुधबार पाल्पाको रामपुरमा नवनिर्मित इलाका प्रशासन कार्यालय भवनको उद्घाटन गर्दै उहाँले अनुसन्धानको दायरामा ल्याउनलाई अपराध गरेको छ भने को ठूलो वा सानो मान्छे भन्ने हुँदैन । जोसुकैलाई अनुसन्धान हुने बताउनु भएको हो ।
गृहमन्त्री लेखकले भन्नुभयो,‘ यो देशमा जतिसुकै ठूलो मान्छे भए पनि यति अपराध गरेको छ भने कानुन अनुसार अनुसन्धान हुन्छ । सबैमाथि अनुसन्धान हुन्छ, मान्छे सानो छ कि ठूलो छ हेरिर्दैन, अनुहार राम्रो छ कि नराम्रो छ हेरिदैन, को सँग कसलाई रिसुटेको छ, त्यो सँग सरकोकार छैन । यति कुनै गैरकानुनी काम भएको छ भने जति ठूूलो मान्छे भए पनि कानुन अनुसार कारवाही हुन्छ ।’ सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न लागि परेको छ । त्यहीअनुसार अनुसन्धान भइरहेको उहाँको भनाई छ ।
मन्त्री लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभई अपराधको अनुुसन्धान गर्न घुमाइएको पनि बताउनुुभएको छ । उहाँले लामिछानेलाई सरकारले ठाउँ– ठाउँमा घुमाएर दुख दिएको भन्ने कुरा आएकाले त्यो रहरले नभइ अनुसन्धानका लागि ठाउँ–ठाउँ घुमाइएको स्पष्ट पार्नुभयो ।
गृहमन्त्री लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता र सुशासनका लागि गठन भएको र त्यसै अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निश्चित उद्देश्य लिएर सरकार गठन भएको हो, त्यसै अनुसार काम अगाडी बढिरहेको छ ।’ मन्त्री लेखकले सुशासन र शान्ति सुरक्षा अहिलेको सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले पछिल्लो समय लोकतन्त्रविरोधी गतिविधि बढेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण आचार्य, राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, लुम्बिनी प्रदेश सांसदहरु वीरबहादुर राना, राजु श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, गृह सचिव गोकर्ण दवाडी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
मन्त्रीले लेखकले रामपुर नगरपालिका–५ बेझाड बजारमा निर्मित इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनसँगै चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ । नवनिर्मित भवनबाट राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रवाह भएको छ । सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको राहदानी र राष्ट्रिय परिचयपत्र सेवा यहाँबाट प्राप्त भएपछि स्थानीय हर्षित भएका छन् ।






