काठमाडौं । निर्देशक विकास घले गुरुङ निखित नृत्यसम्बन्धी पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’ लोकार्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छाली, वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, प्राज्ञ बखतबहादुर हमाल, नृत्य अनुसन्धानकर्ता भावना कार्कीलगायतले पुस्तकको सामुहिक लोकार्पण गर्नुभएको हो ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाटै प्रकाशित पुस्तक ‘बिटुजी सिद्धान्त’ प्रतिपादित रहेको छ । यो एकदमै व्यावसायिक नृत्यको सिद्धान्त हो । यसले नयाँ नृत्य निर्देशक यो क्षेत्रमा अगाडि बढ्न एकदमै सजिलो हुने कार्यक्रममा लेखक गुरुङले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नृत्य विधालाई प्राज्ञिक र शैक्षिक प्रणालीसँग जोडेर लैजान ‘नृत्य तथा नाट्य अध्ययन’ पुस्तकले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कुलपति राईले मानजगतले उपार्जन गरेको सबैभन्दा पुरानो संज्ञानात्मक विधा नृत्य भएको चर्चा गर्दै नेपाली नृत्य शास्त्रलाई मानवशास्त्रीय दृष्टिकोणले व्याख्या, पुनव्र्याख्यामार्फत् रैथानेकरण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीले लेखकले नृत्यलाई ललतिकला विधासँग समेत जोडेर लेखेको भन्दै प्रशंसा गर्नुभयो । नृत्य अभिव्यक्तिको कलात्मक भाषा भएको धारणा राख्दै उहाँले नेपालको भूगोल, संस्कृति, ज्ञान र परम्परामा आधरित भई सैद्धान्तिककरण गरेमात्र नेपाली नृत्य शास्त्रले पूर्णता पाउने जिकिर गर्नुभयो ।
वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापाले ‘पुख्र्यौली व्याकरण’लाई मात्र पछ्याएर किताब लेख्ने परम्पराबाट मुक्त हुन आवश्यक रहेको भन्दै लेखक गुरुङले ‘बिटुजी’ नृत्य विधि अघिसारेर आफ्नो ‘इथिक्स’ सहित पुस्तक लेखेकोमा प्रसंसा गर्नुभयो । कुनैपनि व्यक्तिले अनुभव र अध्ययनका आधारमा इथिक्स् तयार गर्नु नै ठूलो कुरा भएकाले त्यसलाई अरूले पछ्याउलान् नपछ्उलान् भनेर चिन्ता लिन आवश्यक नरहेको उहाँको भनाइ थियो ।
नृृत्य अध्येता एवं अनुसन्धाता भावाना कार्कीले विश्वविद्यालय तहमा रहेको नृत्यसम्बन्धी पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको अभावलाई गुरुङकृत पुस्तकले थोरै भए पनि पूर्ति गर्ने भन्दै नयाँ नृत्य निर्देशकलाई नृत्यको आधारभूत र सैद्धान्तिक ज्ञान दिने बताउनुभयो ।
प्रज्ञा-प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखतबहादुर हमालले नृत्य विधा समग्र संस्कृति अभिव्यक्त हुने ‘सम्पूर्ण’ माध्यम भएको दाबी गर्नुहुँदै नेपाली नृत्य क्षेत्रमा प्रस्तुत पुस्तकले नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो । नृत्य क्षेत्रका अनुसन्धाता, लेखक, कलाकारहरूको उल्लेख्य उपस्थिति कार्यक्रममा रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता