ललितपुर । माटोको सुधारः परीक्षण, रेखदेख र उपचार भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ विश्व माटो दिवस २०२४ मनाइएको छ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने गरिएको छ ।
खनिज पदार्थको मात्रा ४५, हावाको मात्रा २५, पानीको मात्रा २५ र जिवासको मात्रा पाँच प्रतिशत भएको माटोमात्रै स्वस्थ माटो मानिन्छ ।
हाल नेपाललगायत विश्वमैै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वरा शक्तिमा ह्रास हुँदै गएको छ । नेपालको खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय, पाँच प्रतिशत क्षारीय र २९ प्रतिशत माटोमात्र तटस्थ प्रकृतिको रहेको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ माटोविज्ञ तथा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना निर्देशक डा. चन्द्रप्रसाद रिसालले एक इन्च सतहको माटो बन्न एक हजार वर्ष समय लाग्ने भन्दै माटोको उचित व्यवस्थापन गर्न नसके खाद्य संकटका साथै समग्र वातावरणमै प्रतिकूल असर पर्ने बताउनुभयो । विश्व माटो दिवसका अवसरमा बिहीबार सरोकारवाला निकायहरू कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनालगायतको समन्वयमा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले नेपालमा दिगो माटो व्यवस्थापनको अवस्था, अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै रिसालले विश्वमा खेतीयोग्य माटोको ३३ प्रतिशत माटो बिग्रिसकेको बताउनुभयो । उहाँका अनुसार वातावरणको भन्दा तीन गुणा बढी कार्बन माटोले धारण गर्न सक्ने भएकाले माटोले बढ्दो कार्बन उत्सर्जन घटाई वातावरण परिवर्तनका असर कम गर्न सक्छ । त्यसैले माटोको स्वास्थ्य अवस्था बिग्रन नदिई अवस्थामा सुधार गरेर एक पुस्ताबाट अर्को पुस्तालाई माटो हस्तान्तरण हुने गरी माटोको भौतिक, रासायनिक तथा जैविक गुणहरूको व्यवस्थापन गर्नु नै दिगो माटो व्यवस्थापन हो । खनिज पदार्थको मात्रा ४५ प्रतिशत, हावाको मात्रा २५ प्रतिशत, पानीको मात्रा २५ प्रतिशत र जिवासको मात्रा पाँच प्रतिशत भएको माटोमात्रै स्वस्थ माटो मानिन्छ ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले माटो मानव जीवनका लागि अति आवश्यक, गाँस, बास र कपाससँग जोडिएकाले माटोको संरक्षण, सम्वद्र्धन र दिगो व्यवस्थापनका लागि किसानलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । किसानलाई जथाभावी अनुदानभन्दा पनि माटोको उचित व्यवस्थापन गर्दै कृषिलाई दिगो बनाउन प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा दुर्ईजना कृषकलाई सम्मान गरिएको थियो । नार्कअन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिर्जना राई र सूर्यनारायण साहलाई १० हजार नगद र सम्मानपत्रसहित सचिव शर्माले सम्मान प्रदान गर्नुभएको थियो । माटोमा प्राकृतिक गुण कायम राखी माटो स्वच्छ बनाएकाले राई र साह सम्मानित हुनुभएको हो । देशभरबाट १० हजार आठ सय माटोको नमुना संकलन गरी परीक्षण गर्दा सबैभन्दा राम्रो माटो पाइएकाले सम्मान गरिएको नार्कअन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले बताउनुभयो ।
त्यसैगरी टिकटक भिडियो प्रतियोगितामा अनिश खनाल प्रथम, कञ्चन अधिकारी दोस्रो र विक्रम गिरी तेस्रो हुनुभएको छ । माटो सुधारः परीक्षण, रेखदेख र उपचार भन्ने नाराका साथ यस वर्ष विश्व माटो दिवसका लागि टिकटक भिडियो प्रतियोगिता गराइएको थियो । ६५ जना सहभागी भएका भिडियोमध्ये तीन प्रतियोगी छनोट भएका हुन् । आफ्नै मौलिकता झल्कने गरी माटोको महत्व घर, खेतबारीबाट बनाइएको टिकटक भिडियोलाई प्राथमिकता दिइएको कृषि विभागका बाली विकास अधिकृत भवानी खतिवडाले बताउनुभयो । नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) को संयुक्त सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ ।






