ओखलढुंगा। जिल्लाको चम्पादेवी गाउँपालिका–४ स्थित गुठगाउँमा सातकन्या देवीको गुफा ओझेलमा रहेको छ । प्राकृतिक रुपमा निर्मित गुफा प्रचारप्रसार र पूर्वाधार विकासको योजना नहुँदा ओझेलमा परेको हो ।
ठुलो पहराको बिचमा रहेको देवीको गुफा पूजाराधना गर्ने गरिएको छ । यो गुफा हेर्दा निक्कै अचम्मको रहेको छ । पहराको ठुलो ढुंगाको बिचमा रहेको यस गुफामा सातकन्य देवी पूजा गर्ने चलन रहेको छ । यस गुफालाई सातकन्या गुफा भनेर चिनिने गरेको छ ।
किंबदन्तीअनुसार परापूर्वकालमा सातवटी कन्या घाँस काट्न गएका थिए । ती सातै जना कन्याहरु एकैपटक हराए, उनीहरु घाँस लिएर घर फर्केनन् । परिवार लगायत स्थानिय बासीले खोजी गर्ने क्रममा कहिकतै नभेटिएपछि हार मानेर खोज्नै छोडेका थिए । हराएको धेरै वर्षपछि स्थानिय झाँक्रीको शिरमा चढी कम्प दिएर आफुहरु सातैजना एकै ठाउँमा रहेको बताएको भनाइ छ ।
झाँक्रीमार्फत कम्प दिँदा भिरको बिचमा एउटा ढुंगाको ठुलो गुफा रहेको छ, त्यो गुफामा 'हामी सातै जना कन्या एकै ठाउँमा रहेका छौँ' भनेपछि स्थानियबासीले खोजी गर्न थालेछन् । खोजी गर्ने क्रममा झाँक्रीले कम्प दिँदा भने जस्तै ठुलो पहराको बिचमा ढुंगाको गुफा भेट्टिएको रहेछ । त्यसरी हराएका सातजना कन्याको देवीको रुपमा सातकन्य देवी भन्दै उक्त दिनदेखि पूजाराधना गर्न थालिएको स्थानिय बुढापाकाको भनाई रहेको छ ।
धार्मिक रुपमा विश्वास गर्ने मानिसहरुका लागि पूजाराधना गर्न र प्राकृतिक रुपमा बनेको गुफा भएकाले अन्य मानिसहरुका लागि पनि दुश्यावलोकन गर्न उपयुक्त ठाउँ भएको बताएका छन् । ठुलो ढुंगाको बिचमा मनिसले कुँदेर बनाइएको जस्तो देखिने चेप्टो गुफा, मानव निर्मित नभई प्राकृतिक रुपमा बनेको गुफा हो । उक्त गुफा कति लामो छ भन्ने यकिन हुन नसकेपनि परापुर्वकालमा गुफामा कुखुराको भाले छोडीदिदा करिब ४ किलोमिटर जति टाढा रहेको चम्पादेवी गाउँपालिका–३, स्थित चित्रेमा रहेको शिद्धपोखरीमा पुगेर बासेको बुढापाकाहरुले बताउने गरेका छन् । चेत्रेमा भएको शिद्धपोखरी अहिले पनि रहेको छ ।
यो गुफामा मानिसहहरु उभिएर हिड्न सक्ने र ओहोरदोहोर गर्न सकिने रहेको छ । यो गुफामा छिर्दा पहिला तेर्साेबाटो र करिब ३÷४ मिनेट जति हिडेपछि ओरालो बाटो छ । ओरालो बाटो सकिने बित्तिकै एउटा ठुलो शिवलिङ्ग जस्तो देखिने वस्तु रहेको छ । उक्त मूर्ति शिवकै हो भनेर ठम्याउन भने सकिने अवस्था नरहेको स्थानिय मिन बहादुर गिरीले बताउनु भयो । मूर्ति भेट्टिएपछि तेर्साे बाटो आउने र त्यहा भन्दा उता नगएको भनाई छ । अहिले गुफा हेर्ने र दर्शन गर्नेको संख्या दिनानु दिन बढ्दै गएको छ । प्रचार प्रसार र पूर्वाधार निर्माणमा कसैको ध्यान नगएकाले प्राकृतिक देवीको गुफा ओझेलमा परेको स्थानिय बासीको भनाई छ । राज्यले नै लगानी गरेर यस्ता खालका धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने स्थानिय अगुवाहरुले बताएका छन् । यस ठाउँको पूर्वाधार विकास र प्रचारप्रसार गर्न राज्यले सहयोग गरे, धार्मीक पर्यटनको विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने बताएका छन् । तर राज्यले यस्ताखालको विकास गर्न नचाहेको स्थानियबासीको गुनासो रहेको छ । यो गुफा फेदिगुठ बजारबाट करिब आधाघण्टाको पैदलयात्रामा पुग्न सकिन्छ ।






