काठमाडौं । चलचित्र ‘अञ्जिला’की अभिनेत्री एञ्जिला तुम्बापो सुब्बालाई बुधबार काठमाडौंमा एक कार्यक्रमबीच बिदाइ गरिएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिलालाई ग्रिसको ‘ए’ डिभिजन क्लब निस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले विशेष सम्मानसहित बिदाइ गरेको हो । उहाँ २०२४-२५ सिजनका लागि अनुबन्ध हुनुभएको छ ।
कार्यक्रममा चलचित्रको वर्ल्ड प्रिमियर यही मंसिर २३, २०८१ (डिसेम्बर ८) मा हङ्कङमा आयोजना गरिने जानकारी गरइएको थियो । निर्देशक मिलन चाम्स र एञ्जिला सुब्बा प्रिमियरमा सहभागी हुनुहुनेछ । हङ्कङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट भइसकेको उल्लेख गर्दै निर्देशक चाम्सले दर्शकहरूको चासो र उत्साहप्रति आभार व्यक्त गर्नुभयो ।
हङ्कङपछि चलचित्रको प्रिमियर जनवरी १८, २०२५ मा अष्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुवरी १५ मा युके र मार्च २ मा कोरियामा हुने जानकारी गराइको छ । फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर यो चलचित्र एकसाथ प्रदर्शन गरिँदैछ ।
कार्यक्रममा प्रतिनिधि सभासदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थिति थियो ।
चलचित्र ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन संघर्ष र सफलतामा आधारित छ । यसमा एञ्जिला आफैं प्रमुख भूमिकामा देखिनुभएको छ । अन्य कलाकारमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ हुनुहुन्छ । चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुनुहुन्छ भने सह–निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया रहनुभएको छ । यसको छायांकन सुदीप बरालले गर्नुभएको हो भने सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ ।
नेपाली खेलकुद र चलचित्र दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिने उद्देश्यका साथ निर्माण गरिएको चलचित्र ‘अञ्जिला’मा एञ्जिलाको जीवन कथा रहेता पनि पूर्ण बायोपिक भने नभएको निर्देशक चाम्सले बताउनुभयो । साथै, निर्माता श्रेष्ठले यस चलचित्रको व्यापारबाट प्राप्त रकमबाट एञ्जिलाका लागि काठमाडौंमा घर तयार गरिने जानकारी गराउनुभयो । सो घरलाई एञ्जिलाले फुटबल एकेडेमीको रूपमा परिणत गरी संघर्षमा रहेका फुटबल खेल्न चाहनेलाई युवतीहरूलाई सहयोग गर्ने योजना रहेको उहाँको भनाइ थियो । तस्वीर : मोहम्मद जलिम ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता