-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जिल्लाको बैजनाथ गाउँपालिका ३ स्थित नौवस्तामा रहेको बाल सुधार गृहबाट १२ जना बाल बिज्याइँकर्ता भागेका छन् । बिहीबार बाल सुधार गृहबाट १२ जना बाल बिज्याइँकर्ता भागेका थिए । नौवस्तास्थित सुविधासम्पन्न बाल सुधार गृहमा हाल ११६ जना बाल बिज्याइँकर्ता छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दिउँसो एउटा ब्लकबाट अर्को ब्लकमा सार्ने क्रममा उनीहरु भागेको बताउनुभयो । कार्कीका अनुसार बाल बिज्याइँकर्ता भागेपछि खोजी कार्य तीव्र पारिएको थियो ।
भागेका मध्ये ९ जनालाई विभिन्न स्थानबाट भाग्दै गरेको अवस्थामा फेला परेका छन् । अझै तीन जना फरार रहेको खोजी कार्य जारी राखेको एसपी कार्कीले बताउनुभयो । यसअघि कार्तिक २६ गतेपनि यहीँ बाल सुधार गृहबाट तीन बिज्याइँकर्ता भागेका थिए ।
‘नौबस्ता बाल सुधार गृहमा करिब ११६ जना बाल बिज्याइँकर्ता छन् । उनीहरुलाई छुट्टाछुट्टै ब्लकमा राखिएको हुन्छ । दिउँसो अर्को ब्लकमा सार्दा एउटाले प्रहरीलाई हातपात गरेको रहेछ । त्यसैको मौका छोपेर अरुपनि भागेछन् ।’ एसपी कार्कीले भन्नुभयो । बाल सुधार गृहमा एक ब्लकमा प्रहरी ड्युटीमा हुन्छन् । ड्युटीवालाले हतियार बोक्नसमेत पाइदैन ।
बिहीबारपनि अर्को ब्लकमा सार्न खोज्दा एउटाले प्रहरीमाथि प्रहार गरेको र त्यसैको मौकामा अरुपनि भागेको उहाँले जानकारी दिनुभयो । हुलमा भागेको तनावको स्थिति सिर्जना भएको थियो । पछि ब्यापक प्रहरी परिचालन गरेर उनीहरुलाई भेटाउन सफल भएको कार्कीले बताउनुभयो । भाग्नेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका रहेका छन् ।
नौवस्ता बाल सुधार गृहको क्षमता अहिले २ सय ६४ जनाको रहेको छ । सरकारले बाल सुधार गृह सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मी खटाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts