काठमाडौं । चलचित्र निर्माणको क्षेत्रमा एउटा परिचित नाम हो शर्मिला पाण्डे । उहाँले आधा दर्जन चलचित्र निर्माण, प्रदर्शन गरिसक्नु भएको छ । ‘घर, चंगा चैट, आमा, चिसो मान्छे, परस्त्री’ जस्ता व्यावसायिक रूपले सफल मानिएको चलचित्रकी निर्माता शर्मिला विभिन्न सम्बन्धित संघसंस्थाबाट दर्जनौं अवार्ड तथा सम्मान र प्रशंसा पत्रबाट सम्मानित भइसक्नुभएको छ ।
नेपाली चलचित्रको इतिहासलाई पल्टाएर हेर्ने हो भने चलचित्र निर्माणको सुरुवातदेखि नै महिलाहरू चलचित्र निर्माणमा संलग्न रहेको देखिन्छ । नेपाली चलचित्रकी प्रथम महिला निर्माता जुनी चलचित्रकी निर्माता मञ्जु राणा हुनुहुन्छ । निर्माता राणापछि व्यावसायिक रूपमै नेपाली चलचित्र निर्माणमा महिला निर्माताहरू आए र गए । तर शर्मिला पाण्डे जहिलेबाट चलचित्र निर्माणमा लाग्नु भयो अहिले पनि निरन्तरता दिइरहनु भएको छ ।
‘लभ लभ लभ’ नामक चलचित्र निर्माणबाट नेपाली चलचित्रमा लगानी गर्न सुरु गर्नु भएको निर्माता पाण्डे यतिबेला ‘आमा-२’ निर्माणको अन्तिम तयारीमा जुट्नु भएको छ ।
कुनै समय यस्तो थियो जति बेला चलचित्रमा निर्माताको नाम महिलाको हुन्थ्यो अनि प्रस्तुतकर्तामा पुरुषको नाम हुन्थ्यो । घर परिवारले मिलेर बनाएको चलचित्रमा निर्मातामा महिलाको नाम राखेर उनीहरूको प्रतिनिधित्व मात्रै गराइन्थ्यो तर उनीहरूको संलग्नता हुँदैनथ्यो । खासगरी श्रीमान्ले बनाएका चलचित्रको निर्मातामा महिलाको नाम राखेर प्रचार गरिदै आएको भए पनि पछिल्लो केही वर्षयता चलचित्र निर्माणमा महिला निर्माताहरूको प्रवेशले प्राथमिकता पाइरहेको छ । यसरी महिलाहरू चलचित्र निर्माणमा आउनुले उनीहरू पनि पुरुषसरह सक्षम भएको कुरालाई पुष्टि गरिदिएको निर्माता पाण्डे बताउनुहुन्छ ।
एकपछि अर्काे महिला निर्माता चलचित्रमा प्रवेश गर्नु र त्यसले निरन्तरता पाउनुले चलचित्रमा फरक रौनकता छाएको बताउनु हुने निर्माता पाण्डे भन्नुहुन्छ, ‘खासगरी पछिल्लो समय चलचित्र निर्माता बन्नेमा नायिकाहरूबीच प्रतिस्पर्धा नै चलिरहेको छ । दर्शकहरू माझ आफू लोकप्रिय भएकोले आफू निर्माता भएभने बढी फाइदा हुने सोचले पनि नायिकाहरू निर्माता बनेको हुनसक्छ तर चलचित्र राम्रो बनाउन नै नसके उनीहरूको लोकप्रियताको कुनै मूल्य रहँदैन, जुन कुरालाई केही नायिकाले निर्माण गरेको चलचित्रको व्यापारले पुष्टि गरेको छ ।’
वर्तमान परिप्रेक्ष्यमा नेपाली सिनेमा निर्माणको क्षेत्रमा महिलाहरूको प्रवेशलाई चलचित्र क्षेत्रको लागि सकारात्मक रूपमा लिन सकिन्छ । कला क्षेत्रमा सानैबाट चासो दिने भएर होला कलाकारितासँगै निर्माणमा लागियो भविष्यमा पनि चलचित्र निर्माणमै सक्रिय रहने उहाँको भनाइ छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा