काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व डा.आयुष्नोभा ढुंगानाले गर्ने हुनुभएको छ । शर्म अल शेखमा नोभेम्बर २१ देखि आयोजना हुने प्रतियोगिताका लागि उहाँ केही दिनपछि इजिप्ट प्रस्थान गर्नुहुनेछ । ५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगिताका लागि उहाँले राष्ट्रिय फूल लालिगुरासको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउनुहुनेछ ।
‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस भएको ढुंगानले बताउनुभयो । ताज नेपाल ल्याउने उद्देश्यसहित आफु प्रतियोगितामा सहभागी हुनलागेको उहाँको भनाइ छ ।
‘प्रतियोगिताका लागि तयारी राम्रो गरेको छु’, ढुंगानाले भन्नुभयो, ‘नेपालको नाम उचो गरेर फर्किन्छु ।’ प्रतियोगितामा जितका लागि सबैको नेपालीको शुभकामना र शुभेच्क्षाको अपेक्षा आफूले राखेको उहाँले सुनाउनुभयो । प्रतियोगिताका लागि उहाँले एक भिडियो पनि बनाउनुभएको छ । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषि र नेपाली पहिरनलगायत कलासंस्कृतिसमेत झल्काउनुभएको छ ।
‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि विजेतासमेत रहनुभएकी डा.ढुंगाना मोडल पनि हुनुहुन्छ । कलाकारिता र चिकित्सक पेशा एकसाथ अगाडि बढाइरहनुभएकी ढुंगानाले बंगलादेशबाट एमबिबीएस गर्नुभएको हो । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकियाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उहाँले १०० प्रतिशत क्रेडिट पाउनुभएको थियो । उहाँ अहिले हार्वर्ड स्कुलकै अटिजम पोष्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दै हुनुहुन्छ ।






