गुल्मी । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मुसिकोट नगरपालिका वडा नम्बर -१ पौंदी अमराईमा आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस वडामा रिक्त रहेको वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका आनन्द श्रेष्ठ, नेकपा (एमाले) का दलबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का दुर्गाबहादुर विक, रास्वपाका विकास थापा र राप्रपाका इश्वरा खाती क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । कुल बहादुर थापा, पोमानन्द खरेल र योगेन्द्र खरेलले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यहाँका राजनीतिक दलले निकै तामझामसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ-आफ्ना उम्मेदवारहरुको नाम दर्ता गराएका थिए । उम्मेदवारी दर्ताको क्रममा केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूको समेत उपस्थिति थियो । स्थानीय तह उपनिर्वाचन लागि आज (आइतबार) साँझ ५:०० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।
२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको बताइएको छ । उपनिर्वाचनका लागि यस वडामा हालसम्म चार हजार ९१ मतदाता कायम भएका छन् । यहाँ तीन मतदान स्थल र पाँच मतदान केन्द्र कायम गरिएको छ ।






