काठमाडौं । यही मंसिरको दोस्रो सातादेखि फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध हुनुभएको छ । प्रमुख भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ चलचित्र ‘पूर्णबहादुरको सारंगी’बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले जानकारी दिनुभयो ।
अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध हुनुभएको छ । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बांगदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहालगायत अनुबन्ध हुनुभएको थियो । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्दै हुनुहुन्छ ।
‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाउनुभयो । उहाँका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिनेछ ।
चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गर्नुभएको छ भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गर्नुभएको छ । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहनुभएको छ । चलचित्रमा राजनराज सिवाकोटीको संगीत, सौरभ लामाको सिनेमाटोग्राफी र राजु तामाङको एक्सन निर्देशन छ ।






