काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ युट्युबमा आएको छ । गायक सत्यराज आचार्यद्वारा उहाँका बुबा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो चलचित्रलाई प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको हो । ‘हाम्रो चलचित्र ‘आचार्यू’ आजबाट तपाईंहरूको चलचित्र भएको छ है ¤ अब जहाँ, जसरी अनि जतिबेला भए पनि मज्जासँग आनन्दले हेर्न सक्नु हुनेछ,’ सत्यराजले लेख्नुभएको छ ।
१३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको यो चलचित्र ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्यले गत असार ७ गतेदेखि पुनः सिनेमाघरमा प्रदर्शन गरिएको थियो । सिनेमाघरमा प्रदर्शन भएको साढे चार महिनापछि यसलाई युट्युबमार्फत सार्वजिनक गरिएको हो ।
चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारको अभिनय छ । गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।






