पाल्पा । दुवै मिर्गौला फेल भएर उपचाररत् सागर रायमाझीले सहयोगको याचना गर्नुभएको छ । गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ वर्षीय रायमाझीले उपचारका लागि सहयोगको याचना गर्नु भएको हो ।
गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । अहिलेसम्म उपचारमा २० लाख बढी खर्च भइसकेको छ । मिर्गौला प्रत्यारोपणका लागि अझै २० देखि २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि रायमाझीले सबैसँग सहयोगको याचना गर्दै आउनुभएको हो । ‘मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्छ, घरको आर्थिक अवस्था नाजुक छ’, उहाँले भन्नुभयो, ‘सबैको सहयोग पाए भने म बाँच्ने ।’ बिरामी भएर उपचार गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको थियो । हाल उहाँले हप्ताको तीन दिन डायलासिस गर्नुपर्छ । ‘८/९ महिना भयो काठमाडौंमा बसेर उपचार गराउनु परेको छ, पैसा छैन, कसरी उपचार गर्नु’, रायमाझीले भन्नुभयो, ‘सबैको थोरै–थोरै सहयोगले उपचारका लागि खर्च जुटे म बाँच्थे ।’ घरको आर्थिक अवस्था कमजोर भएकै कारण सानो उमेरमा विदेशीएका रायमाझी दुवै मृगौला फेल भएपछि अहिले उपचारका लागि अस्पतालको बेडमा छट्पट्याउँदै सहयोगको अपिल गर्दै आउनुभएको छ । उहाँकी आमा विष्णु रायमाझी घरको साहारा बनेको छोरा नै रोगसँग लडिरहँदा उपचारका लागि आर्थिक अभावमा तड्पिरहनु भएको छ ।
अहिले छोराको उपचारका लागि सबैसँग सहयोगको याचना गरिएको उहाँले बताउनुभयो । ‘श्रीमान ५ वर्षअघि दुर्घटनामा परी गम्भीर घाइते भई अहिलेसम्म विस्तारामै हुनुहुन्छ,’ रायमाझीले भन्नुभयो, ‘अब जीवनको सहारा भनेकै यही एउटा छोरा हो । यो पनि बिरामी भएपछि उपचार गर्ने पैसा छैन ।’
उहाँले छोराको उपचारका लागि खर्च जुटेमा आफ्नो मृगौला प्रत्यारोपण गरिदिने बताउनुभयो । ‘म मेरो मृगौला प्रत्यारोपण गरेर भए पनि छोरालाई बचाउन चाहन्छु ।’ रायमाझीले भन्नुभयो, ‘सबैले सहयोग गरिदिए छोरा बाच्ने थियो ।’ मिर्गौलापीडित रायमाझीको उपचारका लागि उनकी आमा विष्णु रायमाझीको नाममा ग्लोवल आइएमई बैंकमा (खाता नं ०७००७०१००११८३३) खाता खोलिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता