पाल्पा ।पाल्पाका युवाहरुले स्थानीय तहहरुका प्रमुखसँग गाउँमा केही नभएपछि आफुहरु विदेश जान बाध्य भएको बताएका छन् । पाल्पा जेसिजले तानसेनमा आयोजना गरेको स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस कार्यक्रममा सहभागी युवाहरुले गाउँमै केही गरौं भन्ने सोंच हुँदा हुँदै पनि केही नभएपछि सुर्केस बोकेर विलेशीनु परेको बताएका हुन् ।
उनीहरुले भने ‘गाउँमा न लगानीको वातावरण छ न त रोजगारी नै , अनि हामी विदेश जानुको विकल्प रहेन ।’ स्थानीय तहका नेतृत्वले युवाहरुको क्षेत्रमा थुप्रै कामहरु गरेको दावी गरे पनि युवाहरुले भने गाउँमा रोजगारका अवसरहरु नभएर आफुहरु विदेशीन बाध्य हुनु गुनासो गरे । उनीहरुले भने ‘तपाईहरुले निर्वाचनका बेला युवाहरुलाई स्वरोजगार बनाउँछौं, विदेश जानबाट रोक्छौं भन्ने तर निर्वाचित भएर यतिका वर्ष हुँदा समेत खै विदेश जानबाट युवालाई रोक्ने योजना ल्याएको ? अनि हामी विदेश नगएर के गर्ने त ?’ ।
कार्यक्रममा बगनासकाली गाउँपालिका–८ का बरुण बस्यालले स्थानीय तहमा विदेश जानबाट युवाहरु रोक्न कुनै पनि योजना नभएको बताउनुभएको छ ।
गाउँपालिकाले बेरोजगार र विदेशबाट फर्किएका युवाहरुलाई गाउँकै विकासमा समर्पित गर्ने र युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिमहरु दिने नीति ल्याए पनि त्यो कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । बस्यालले भन्नुभयो ‘पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ७४ जनालाई रोजगारी दिएको, २० जनालाई उद्यमी बनाएको देखिन्छ । त्यही डाटा हेर्दा आर्थिक वर्ष २०८०/०८१ मा ८५ र २०८१/०८२ मा २५ जनाले श्रम स्वीकृत लिएको अवस्था देखिन्छ । यसले के स्पष्ट हुन्छ भने रोजगारी दिने भन्दा पनि विदेश पठाउनेतर्फ स्थानीय सरकार लागेको देखिन्छ ।’ उहाँले युवाहरुलाई रोजगार दिने सपना नबाँड्न पनि आग्रह गर्नुभयो ।
बस्यालले भन्नुुभयो‘ के विदेश जाने योजना बनाउनुहोस् हैन भने झोला बोकेर विदेश जाऊ भनेर लिखित रुपमा कागज बनाएर दिनुहोस् ।’ अर्का युवा सुशिल बस्यालले लाचर प्रवृत्तिले देश नबन्ने भन्दै नेतृत्वलाई सच्चिन आग्रह गर्नु । अर्का युवा यमबहादुर कुमालले युवाहरुलाई अनुदान हैन लगानी गर्ने वातावरण सिर्जना गरिदिए युवाहरु विदेश जान नपर्ने उल्लेख गर्नुभयो ।
रम्भा गाउँपालिकाका अर्का युवा विवेक न्यौपानेले गाउँमा रोजगार नभएपछि आफु छिट्टै विदेश जाने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरु अविता अर्याल, ओजस्वी आचार्य, रिया बस्याल, मिना कार्की, इतिहासकार निर्मल श्रेष्ठ, सूर्यबहादुर बोहोरा, विद्यार्थी अञ्जली पाठक, विशाल न्यौपाने, दीपक खड्का, लक्ष्मण बस्याल,तुलजा नेपाल, सौरव नेपाल, विकेक बस्नेत लगायतले नेतृत्वलाई प्रश्न गरेका थिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्की, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी लगायतले युवाहरुले राखेका प्रश्न र जिज्ञासाका बारेमा जवाफ दिएका थिए । उनीहरुले युवाहरुको क्षेत्रमा कार्यक्रम गर्दै आएको बताएका छन् । स्थानीय तहमा युवा लक्षित कार्यक्रमहरु गरे पनि युवाहरुको सहभागीता अत्यन्त न्यून रहेको उनीहरुको भनाई छ । पालिका प्रमुखहरुले बजेट अभावका कारण पर्याप्त कार्यक्रमहरु गर्न नसकिएको गुनासो समेत गरे । उपस्थित युवाहरुले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका विषयमा नेतृत्वलाई प्रश्न गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख बसन्त घर्तीले जेसिजले आयोजना गरेको बहस कार्यक्रम अत्यन्त प्रसंशनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्न जेसिजलाई आग्रह गर्नुभयो । बहस कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधिलाई थप जिम्मेवारी र जवाफदेही बनाउ महत्वपूर्ण भूमिका खेल्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जेसिजका जिल्ला अध्यक्ष जेसी अर्जुन कार्कीले स्थानीय सरकारसँग सवाल, नीति निर्माणका लागि आधार तयार गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक खुला बहस कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘स्थानीय तह र युवाबिच विकासका गतिविधिका बारेमा प्रत्यक्ष साक्षात्कार गराउन, युवा र जनप्रतिनिधिबिच दुरी कम गराउन जनप्रतिधिहरुलाई युवा लक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयनमा दवाब सिर्जना गराई युवामैत्री कार्यक्रम सञ्चालनको वातावरण निर्माण गराउन बहस सञ्चालन गरेका हौं ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts