काठमाडौं । गीतकार, कवि, संस्कृतिविद् एवं चलचित्र निर्देशक चेतन कार्कीको ८६औँ जन्मजयन्ती बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच मनाइएको छ । चेतन कार्की प्रतिष्ठानले उहाँको जन्मजयन्ती मनाएको हो । अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष एवं निर्देशक मोहन निरौलाले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानका महासचिव एवं कवि मुरारी सिग्देलले सहजीकरण गर्नुभएको कार्यक्रममा नृत्य निर्देशक भैरवबहादुर थापाले चेतन कार्कीलाई ६५ वर्षअघि देहरादुनमा भेटेको स्मरण गर्दै उहाँको चलचित्र, साहित्य तथा लोक साहित्यको क्षेत्रमा दिएको योगदानबारे आफ्ना भनाइ राख्नुभएको थियो । विशिष्ट कलाकार तथा निर्देशक नीर शाहले चेतनले साहित्य तथा आध्यात्मिक क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
त्यस्तै, समालोचक गोविन्दमान सिंह कार्कीले चेतनको व्यक्तित्व र कृतित्वबारे आफ्नो धारणा राख्नुभएको थियो । साहित्यकार राधेश्याम लेकालीले चेतनका तीन मुक्तक वाचन गरेर उहाँको स्मरण गर्नुभएको थियो भने नेपाल मुक्तक संघका अध्यक्ष रामकाजी कोनेले मुक्तक विधाको उन्नयनमा चेतनको योगदानबारे आफ्ना भनाइ राख्नुभएको थियो ।
समारोहमा गायिका ऋतु कँडेलले चेतनको सदाबहार गीत ‘कान्छी हे कान्छी’ गाउनुभएको थियो भने गायक प्रेमराजा महतले चेतनको चलचित्र ‘भुमरी’को गीत गाउनुभएको थियो ।
यस्तै, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले चेतनले नेपाली साहित्य र चलचित्र विधामा पुर्याएको योगदानबारे प्रकाश पार्नुभएको थियो । प्रतिष्ठानकी प्रमुख संरक्षिका चेतन कार्कीकी श्रीमती गंगा कार्कीले देहरादुनदेखि अन्तिम अवस्थासम्म पतिलाई गुमाउँदाको क्षण स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भने चेतनकी नातिनी मदालताश्री कार्कीले स्व. हजुरबुबालाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई प्रतिष्ठानकी अध्यक्ष मिथिला शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो । सन् १९९५ मा बहाटारी, थुम स्याङ्जामा जन्मिनुभएका चेतन कार्कीको नेपाली साहित्य तथा चलचित्र क्षेत्रमा अविस्मरणीय योगदान छ । चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादुनमा बितेको थियो ।
चेतनले निर्देशन गरेको पहिलो चलचित्र ‘विश्वास’ रहेको थियो भने उहाँले ‘भुमरी’, ‘पहिलो प्रेम’ जस्ता चलचित्र निर्देशन गर्नुभएको थियो । उहाँका ‘परिवर्तन’, ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’, ‘ढलेको गिलास’जस्ता उपन्यास तथा ‘कल्पना टुट चुकी है’ (कविता-हिन्दी/उर्दू)सहित ‘जून निदाउन थाल्यो’ (कविता र गीतिसंग्रह), ‘माया प्रीतिको चोखो कथा’ (गीतसंग्रह), ‘हत्केलाले सधैँभरि सूर्य छेकिँदैन’ (मुक्तकसंग्रह), ‘हो देश मेरो पनि’ (गजलसंग्रह), ‘बसी बियालो’ (कथासंग्रह), ‘दिल जिगरके टुक्रे’ (उर्दू मुक्तक) लगायतका रचना प्रकाशित छन् । कैयौँ गीत पनि रचना गर्नुभएका चेतनको २०७८ साल जेठ २ गते निधन भएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकारहरू वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, आर पी पन्त, मिलन मोक्तान, नरहरि प्रेमी, छत्रबहादुर गुरुङ, पूर्वसचिव डा. खगराज बराल, साहित्यकारहरू गोपाल थपलिया, श्रीपुरुष ढकाल, रमेशनाथ खनाल, हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, भीम खरेल, नगेन्द्रराज पौडेल, श्रीओम श्रेष्ठ, रामप्रसाद पन्त, सुमन वर्षा, प्रद्युम्न जोशी, विजयध्वज थापा, श्रीबाबु कार्की, दीपा राई पुन, प्रेमप्रसाद भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, यादव भट्टराई, सुवासचन्द्र ढुंगेल, रत्नलक्ष्मी श्रेष्ठ, शिव अधिकारी, बेन्जु सरोज, समिना खनाल पृथा, वैरागी जेठा, इन्दिरा ढकाल, राज रजक, सुधा शर्मा, नीरा श्रेष्ठ, गीता अधिकारी, भानुप्रकाश जोशी, जीवनकुमार श्रेष्ठ, कला भट्टराई, एन बी. अञ्जान, प्रमोद सारङ, प्रज्ज्वल अधिकारी, इम्तियाज वफा, मोमिन खान, डा. गणेश गुरुङ, राम गुरुङ, बद्री गुरुङलगायतको बाक्लो उपस्थिति थियो ।






