हेटौंडा – नेपालीहरुको महान पर्व शुभ दिपावली (तिहार) को रमझम सुरु भईसकेको छ । सर्वसाधारणको चहलपहल हेटौंडा बजार क्षेत्रमा बढेको छ । चहलपहल बढेपनि बिगतको तुलनामा यस वर्ष व्यापार घटेको व्यवसायीहरु बताउनुहुन्छ ।
तिहारको समयमा अन्य सामाग्रीभन्दा बढी भाइमसलाको व्यापार अलि बढी नै हुने गरेको पाइन्छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई सँगुनको रुपमा दिने भाइमसला हेटौंडाको प्रमुख चोकदेखि गल्ली–गल्लीसम्म पुल खोलेर बिक्रीका लागि राखिएको छ ।
यो वर्ष भाइमसलाको मूल्य बढेर आएको छ । बजारमा काजु, किसमिस, ओखर, बदाम, छोकडा, पेस्ता र नरिवल सबैको भाउ बढेको बुद्धचोकका व्यापारी महेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घटेको भन्दै भाइटीका आउन अझै केही दिन बाँकी रहेकाले थप व्यापार हुने आशा व्यपारीहरुको छ ।
यस्तै, तिहारको समयमा खपत हुने माटोको पालाको पनि व्यापार घटेको हेटौंडा उपमहानगरपालिका – १० मा केही वर्षदेखि माटोको भाडा बिक्री गर्दै आएका लक्ष्मी प्रजापति बताउँनु हुन्छ । उहाँले भन्नुभयो, ‘अन्य समयभन्दा तिहारको बेलामा माटोको पाला अलि बढी बिक्री हुने गरेपनि यसवर्ष खासै व्यापार छैन । हामीलाई सामान हाल्नलाई पनि धौं–धौं भइरहेको छ ।’
यस्तै अघिल्लो वर्षमा बढी मात्रामा बिक्री भएको प्लाष्टिकको फूल यस वर्ष भने बिक्री नभएको अर्का व्यापारी हिरालाल दासले बताउनुभयो । विगत १५ वर्षदेखि सोही स्थानमा व्यापार गर्दै आउनुभएका उहाँले अघिल्लो वर्षमा यस समयमा भ्याइनभ्याइ हुने गरेको भन्दै व्यापार नभएको सुनाउनुभयो ।
अर्का व्यापारी चायल गुप्ताले पसल बाहिर फुल झुण्ड्याएर राखिएको भएपनि यस वर्ष तिहार सुरु भइसक्दा पनि व्यापार नभएको गुनासो गर्नुभयो । ‘अघिल्लो साल भ्याई नभ्याईकन व्यापार हुनेथियो । यस वर्ष भने हामी ठन्डाराम नै छौं’, उहाँले भन्नुभयो ।
यस्तै, तिहारको समयमा खपत हुने झिलिमिली बत्ती, भाँडाबर्तन, मिठाई र लत्ताकपडाको पनि व्यापार घटेको व्यापारीहरु बताउँनुहुन्छ । अन्य दिनभन्दा केही व्यापार भएपनि तिहारको समयमा हुनपर्ने जति व्यापार नभएको व्यापारीको भनाइ छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts