रुपन्देही । भारतको लाइफ केयर क्रिकेट क्लबले भैरहवामा सम्पन्न ‘विपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेक्सस रुपन्देही–११ नेपाललाई २१ रनले पराजित गर्दै लाइफ केयरले उपाधि जित्न सफल भएको हो । जितसँगै लाइफ केयरले ५ लाख रुपैयाँसहित ट्रफी पायो । उपविजेतामा चित्त बुझाएको नेक्ससले ३ लाख रुपैयाँ नगद र ट्रफी पायो ।
टस हारेर ब्याटिङ गरेको भारतको लाइफ केयरले ६ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । उसका लागि शुभम लम्बाले ३९, दीपक पुनियाले ३८, एकान्स धोवलले २५ र दिपान्सु फोरेले २४ रन जोडे । बलिङमा नेक्सस रुपन्देहीका दिपेश कँडेलले २, शाहब आलम, वसिर अहम्मद, दिनेश अधिकारी र कृष्ण कार्कीले १–१ विकेट लिए ।
१६५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेक्सस रुपन्देही सबै विकेट गुमाउँदै १ सय ४३ रन मात्रै बनाउन सक्यो । उसका लागि कृष्ण कार्कीले ३५, वसिर अहम्मदले २५, शंकर रानाले २४, सुमित महर्जनले २०, मिर्नाल गुरुङले १५, प्रतीक श्रेष्ठले ११ रन बनाए पनि टिम उपाधि जित्नबाट चुक्यो ।
रुपन्देहीका तीन खेलाडीले खाता पनि खोल्न सकेनन् । बलिङमा लाइफ केयरका सक्षम शर्माले ३, योगेश कुमार र जस्मित नैनले २–२ तथा रोहित डङ्गवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले समान १–१ विकेट लिए । फाइनल खेलको प्लेयर अफ द म्याच शुभम लाम्बा घोषित भए । उनले पाँच हजार रुपैयाँ पाए ।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी लाइफ केयर क्रिकेट क्लबका दीपक पुनिया घोषित भए । उनले ३५ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै प्रतियोगितामा नेक्सस रुपन्देहीका शाहब आलम उत्कृस्ट बलर र लाइफ केयरका दीपक पुनिया उत्कृष्ट ब्याटर घोषित भए । उत्कृस्ट बलर र ब्याटरले जनही २० हजार रुपैयाँ पाए ।
विजेता खेलाडीहरुलाई काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यष भरतबहादुर शाली लगायतले पुरस्कार प्रदान गर्नु भयो । नेक्ससको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा ८ दिनसम्म चलेको प्रतियोगितामा ५ वटा दक्षिण एसियाली टेस्ट राष्ट्रका क्लब टिमहरु सहभागी थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts