काठमाडौं । तिहारको महोत्सव, फूलको उत्सव भन्ने नाराका साथ तिहार फ्लोरा एक्स्पो-२०८१ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ व्यावसायिक स्टल रहेका छन् । मेला उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘रैथाने जातका लालीगुराँस, सुनगाभा पनि विश्व बजारमा लैजाने गरी उत्पादन गरिनुपर्छ, यस्ता उत्पादन निर्यात गरेर युवालाई स्वदेशमै राख्ने वातावरण बनाउन सकिन्छ ।’
वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले प्लाष्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको भन्दै सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । गत वर्ष आयातित सयपत्रीका कारण नेपाली फूल बिक्री नभएपछि विभागको प्राकृतिक अनुसन्धानशालाले फुड सप्लिमेन्ट र सौन्दर्य सामग्री निर्माण गरेको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ वस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योग भए पनि सरकारले भने प्रवद्र्धनमा चासो नदिएको बताउनुभयो भने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं निर्यात प्रवद्र्धन समिति संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जा व्यवस्था गरी स्वदेशमै रोजगारी प्रवद्र्धन गर्न सकिने बताउनुभयो । मेला संयोजक एवं आयोजक समितिका अध्यक्ष रामजीप्रसाद तिमल्सिना, उपाध्यक्ष लक्ष्मी महर्जनलगायतले सयपत्री फूल प्रवद्र्धनका लागि सरकारी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts