हेटौंडा । मकवानपुरको राक्सिराङ गापा वडा-३, खहरे बस्ने वर्ष ४६ का मनु थिङविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
वडा-२, कालीधापस्थित घरमा ३ गते साँझ करिब ५ बजे आफ्नै घरभित्र मकै छोडाउने काम गरिरहेको बेला प्रतिवादी थिङ घर प्रवेश गरी नजिकको खुर्पा टिपेर पछाडिबाट करिब ५३ वर्षका शारीरिक अशक्त लालबहादुर थिङमाथि प्रहार गरेको भन्दै उजुरी परेको हो ।
उनको टाउको, घाँटी, ढाड, हातखुट्टा जस्ता शरीरका विभिन्न भागहरुमा गहिरो घाउ चोटपटक लागेर गम्भीर घाइते भएको र उक्त समयमा नजिकको बारीमा घाँस काट्न गएका वर्ष २५ का राज थिङले बुबा डराएर रोइकराइ चिच्याएको आवाज सुनेर घरमा आउँदा थिङले बुबालाई ज्यान मार्ने उद्धेश्यले पटकपटक खुर्पा प्रहार गर्दा बुबाको शरीरबाट रगत बहिरहेकों रं गम्भीर घाइते भइ भुईंमा ढलिरहेको अवस्थामा पनि खुर्पाप्रहार गरिरहेको देखेको उजुरीमा उल्लेख छ ।
बुबालाई किन मार्न खोजेको भनी छुट्याउन खोज्दा प्रतिवादीले एक्कासी राजको टाउकोमा खुर्पाप्रहार गर्दा खुर्पाको टुप्पा टाउकोमा छिरेर गम्भीर घाइते भए । स्थानीयको सहयोगमा घाइतेहरुलाई मनहरी अस्पताल पुर्याइ उपचार गरिएको र अवस्था गम्भीर भएकाले थप उपचारका लागि चुरेहिल हेटौंडामा उपचार जारी छ ।
यसरी खुर्पाप्रहार गरी ज्यान जानसक्ने गरी सांघातिक आक्रमण गरेकाले मनु थिङलाई तत्काल खोजतलास एवम् पक्राउ गरी घटनाको आवश्यक अनुसन्धानसहित घाउ चेक फाराम गरी औषधी उपचार खर्च उपलब्ध गराइ सम्बन्धित कसुर ऐनअन्तर्गत् हदैसम्मको सजाय गर्न जाहेरी दरखास्त इलाका प्रहरी कार्यालय मनहरीमा पेश गरिएको कालीधाप बस्ने २९ वर्षीय छोरा जयराम थिङले बताउनुभयो ।






