म्याग्दी । शरद ऋतुको रमाइला दिन । छ्याङ्गै उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमालहरु । खेतैभरी लहलहै भएर झुलेका धानको हरियाली । पर्यटकीय स्थलहरुमा रमाइरहेका पर्यटक ।
झर्लक्क हेर्दा लाग्छ गाउँमा खुसीयाली छ । तर, नियाल्दै जाँदा गाउँको चमक यहाँका युवाहरुसँगै बाहिरिएको छ । बयोबृद्ध व्यक्तिहरु मात्र गाउँमा देखिन्छन् । दसैं मनाउन गाउँमा आएका व्यक्तिहरु आआफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन् । उनीहरुसँगै गाउँको रौनक पनि हराउँदै गएको छ । केही दिनको चहलपहल पछि म्याग्दीका गाउँबस्ती पुनः सुनसान बनेका छन् ।
उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाएर बस्नुभयो । पोखरामा बसोबास गर्ने छोरा बुहारी दसैं पछि पोखरा हिंडेपछि अहिले उहाँ घरमा एक्लै हुनुहुन्छ ।
श्रीमतीको मृत्यु पछि एकांंकी जीवन बाँच्दै आउनुभएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कुराको कमी छैन । पोखरामा बस्ने छोरा बुहारीले उहाँलाई कुनै कुराको कमी हुन दिएका छैनन् । एउटै मात्र कमी भनेको आफ्ना सन्तान आफूसँग नहुनुको पीडा हो । उसो त छोरा बुहारीले उहाँलाई आफूसँगै पोखरामा नै बस्न निकै कर गर्दछन् तर उहाँ आफ्नो थाँतथलो छोडेर पोखरा बस्न मान्नुहुन्न ।
त्यस्तै अवस्था छ सोही गाउँका ८७ वर्षिय खड्गबहादुर घिमिरे, ८९ वर्षिय बेदप्रसाद उपाध्याय, एक सय वर्षिय खड्गबहादुर थापा र ७९ वर्षिय टेकबहादुर कार्कीको पनि । उहाँहरुका सन्तानहरु कोही वैदेशिक रोजगारीमा हुनुहुन्छ भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचि रहनुभएको छ ।
अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएकाहरु दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेका मंगला गाउँपालिका २ रणबांगका हरिकृष्ण पौडेलले बताउनुभयो ।
“केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशमा रहेका आफन्तहरुसँग भेटघाट, रमाइलोले दिनहरु बितेको पत्तै भएन” उहाँले भन्नुभयो “दसैं सकिएसँगै गाउँ आएकाहरु आ-आफ्नो कार्यक्षेत्रमा फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि सुनसान र विरक्तलाग्दो हुन थालेको छ ।”
म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्राउने समय हुन लागेको छ । अहिले गाउँमा मानिसहरु अत्यन्त कम छन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । बेनी नगरपालिका-२ का नारायण सापकोटाले भन्नुभयो “दसैँको समयमा गाउँमा जत्तिको रमाइलो कही भएन ।दसैं सकिएसँगै गाउँ खाली हुन थालेको छ । अहिले गाउँमा युवा पुस्तालाई देख्नै मुस्किल पर्छ । बूढाबूढी र विद्यालय जाने उमेरका बालबालिकाबाहेक अरू गाउँमा देखिँदैनन् ।”
“यहाँका ग्रामीण क्षेत्रका अधिकांश मानिस, पोखरा, काठमाडौं, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँसराइ गरेर गएका छन् । युवाहरु विदेश छन् । हिजोआज गाउँमा बस्नेको संख्या निकै कम हुँदै गएको छ”, धौलागिरि गाउँपालिका ७ ताकमका हेम सुवेदीले भन्नुभयो ।
अहिले सहरको सेवा सुविधा बिस्तारै गाउँमा पनि पुग्न थालेको छ । सबै गाउँमा यातायातको पहुँच छ । शिक्षा, स्वास्थ्य र सञ्चारको पनि राम्रो सुविधा गाउँमा भए पनि युवा पुस्ता सहर केन्द्रित हुन थालेपछि विकास र सुविधाको उपयोग गर्नेहरुसमेत नपाइने अवस्था उत्पन्न हुन थालेको मालिका-२ की मीना पुनले बताउनुभयो ।
“गाउँमा पुगेको सेवासुविधाभन्दा थप सेवासुविधा खोज्दै अधिकांश बजार झर्दा गाउँमा बूढापाका र बालबालिका मात्रै छन्”, उहाँले भन्नुभयो “बिस्तारै गाउँ रित्तिँदै जान थालेको छ । दसैँ-तिहारजस्ता ठूला चाडपर्वमा केही दिन रमाइलो हुन्छ, त्यसपछि फेरि गाउँबस्ती सुनसान हुन थालेका छन् ।”
चाडपर्वले अपनत्वको बोध गराउने हुँदा सबै मानिसहरु आफ्नै जस्ता लाग्ने पुनको भनाइ थियो । वर्षौंदेखि टाढा रहेका आफन्तसँगको मिलन निकै रमाइलो हुने उहाँले बताउनुभयो ।
एक दशक अगाडिसम्म मालिका-५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै हुने गरेका भन्दै अचेल हुने खानेहरु सबै बजार झर्न थालेका देवीस्थानका टेकबहादुर बूढामगरले बताउनुभयो । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमारामा परिणत हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधारहरु र अवसरहरुको कुनै कमी छैन । यहाँ व्यापार व्यवसायदेखि कृषि,पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावनाहरु रहेका छन् । तर यहाँका अनेकौं सम्भावनाहरुप्रति स्थानीय युवाहरुको कुनै रुची छैन । यहाँका युवाहरु अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका मुलुकमा पुगेका छन् । त्यसैगरी वैदेशिक रोजगारीका लागि साउदी अरब, कतार, युएईलगायतका मुलुकमा पनि प्रशस्तै युवाहरु छन् । रहेबचेका युवाहरु कोही सहरतिर छन् । दसैं मनाउन जापानबाट पाँच जना युवाहरु गाउँ आउँदा गाउँको रौनक नै बेग्लै भएको स्थानीय सुनिल थापाले बताउनुभयो ।
९ वर्ष जापान बसेर गाउँ फर्किनुभएका थापा अहिले गाउँमा नै व्यवसाय गरेर बस्नुभएको छ । थापालगायत १२ जना युवाहरु मात्रै अहिले गाउँमा छन् । ती मध्ये पनि सात जना युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तारतम्य मिलाउँदै गरेका उहाँले बताउनुभयो । गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका बृद्धबृद्धाहरुको संख्या दुईसय भन्दा बढी रहेको छ । महिला र विद्यालय उमेरका बालबालिकाहरु छन् । युवाहरुको संख्या अत्यन्तै न्यून रहेको ७४ वर्षिय टेकबहादुर कार्कीले बताउनुभयो । “गाउँ बृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु गाउँमा देखिदैनन्” कार्कीले भन्नुभयो “मर्दापर्दा, दुख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन् ।”
२०७८ सालमा गरिएको जनगणना अनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकोमा कुल जनसंख्या १ लाख ७ हजार ३३ रहेको छ । २०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार ७ सय ६२ रहेकोमा त्यतिबेला कुल जनसंख्या १ लाख १३ हजार ६ सय ४१ रहेको थियो । ०७८ सालको जनगणनाअनुसार परिवार संख्या बढेको भए पनि जनसंख्या भने घटेको छ ।
पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसंख्या ५२ हजार १ सय ५३ रहेको छ भने महिलाको ५४ हजार ८ सय ८० रहेको छ । यसैगरी परिवारको औषत आकार ३ दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको संख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।
जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्यातर्फ कुल परिवार संख्यामध्ये ८ हजार ३ सय २० रहेकोमा जनसंख्यामा भने १० हजार ७ सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ । यसमध्ये पुरुष ८ हजार ९ सय ६१ जना र महिला १८ सय ५ जना रहेकोमा कुल जनसंख्याको शुन्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क छ ।






