म्याग्दी । मधुमेह र उच्चरक्तचापको रोगका कारण थलापरेकी म्याग्दीको बेनी नगरपालिका–१ सालघारीकी ६१ बर्षिया शान्ति सार्कीले घरआगनमै १३ हजार ५ सय पाएपछि अब नियमित उपचार र औषधि सेवनका लागि सजिलो भएको भन्दै खुसीले फुरुङ् हुनुभयो ।
त्यसैगरी सोही वडाको अर्जम पुरन्जीमा लडेर टाउकोको नशा च्यापिएर ओछ्यानमै थलिएकी २७ बर्षिया सोबिता परियार, बेनपा–२,ज्यामरुककोटकी दृष्टिविहिन ६४ बर्षिया पार्वती विश्वकर्मा, ८७ बर्षिया दिलकुमारी सापकोटालाई वडा नं १ का अध्यक्ष टेकबहादुर थापा र वडा नं २ का अध्यक्ष यामबहादुर कार्की, राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाका प्रबन्धक नवराज ढुंगानाले घरमै पुगेर पहिलो किस्ताको १३ हजार ५ सय रुपैयाँ हस्तान्तरण गर्नुभयो ।
म्याग्दीको बेनी नगरपालिकामा आर्थिक तथा सामाजिक रुपमा विपन्न,पूर्णरुपमा अपाङ्ता भएका, एकल महिलाहरूलाई जीविकोपार्जन र औाषधि उपचारमा सहयोग गर्ने सम्बोधन परियोजना संचालन भएपछि सार्की,परियार,विश्वकर्मा र सापकोटा जस्ता सयौं विपन्न महिलाहरु लाभान्वित भएका छन् ।
यो परियोजना २०८१ साल साउन महिनादेखि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोगमा बेनी नगरपालिकामार्फत १० वटै वडामा संचालन भएको छ । सगंम म्याग्दी र राष्ट्रिय बाणिज्य बैकको सहकार्यमा संचालन भएको यो परियोजनाले आर्थिक अभावमा उपचारबाट बन्चित भएका तथा जीविकोपार्जनको खोजीमा रहेका महिलालाई ठूलो राहत मिलेको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
गत साउन महिनादेखि लागु भएको यस परियोजनाले विपन्न महिलाहरुको राष्ट्रिय बाणिज्य बैकमा समृद्धि बचत खाता खोलेर दुई किस्तामा २७ हजार आर्थिक सहयोग गर्ने गरेको सगंम म्याग्दी सम्बोधन परियोजनाका कार्यक्रम संयोजक श्रीमन चोखालले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाले वडास्तरमै पुगेर छनौट गरेका आर्थिक तथा सामाजिक रुपमा विपन्न, संकटापन्न तथा सामाजिक सुरक्षाको आवश्यकता पर्ने ३ सय ४० महिलालाई बिना सर्त गरिने नगद सहयोगले धेरै राहत मिलेको छ ।
रु एक करोड, दुई लाख कुल बजेट रहेको यस परियोजनाले लाभग्राहीलाई रु ९२ लाख नगदै वितरण गर्ने जनाएको छ । नेपालका नौ जिल्लाका १६ स्थानिय तहहरूमा सञ्चालित परियोजना गण्डकी प्रदेशमा दोस्रो चरणको कार्यक्रम म्याग्दी जिल्लामा मात्रै संचालन भएको कार्यक्रम संयोजक चोखालले बताउनुभयो । हालसम्म यस परियोजनामा सहभागि ६० प्रतिशत महिला बाख्रापालन सहित विभिन्न आयआर्जनमा समेत संलग्न भएका उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय बाणिज्य बैकले प्रत्येकको घरमै पुगेर खाता खोल्ने, बैंकसम्म आउन नसक्नेलाई घरमै नगद पु¥याउने तथा प्रत्येक खातावालालाई रु एकसय नगद जम्मा समेत गरिदिने गरेको छ ।






