✍️ सुरेशकुमार भट्ट
हामी नेपाली जहाँ बस्छौं, तहीँ खोस्रन्छौं जुन रूखको फेदमा बास लाग्छौं, त्यसैको जरा काट्छौं । नदी खोलाका किनारमा जबरजस्ती बस्छौं, बाढी आएर बगाएर विपद्मा परियो भनेर कौलासिन्छौं । भीर पहाडको फेदीमा गाडी लगेर राख्छौं, पहिरोले पुर्यो विपद् पर्यो ज्यान गुम्यो मान्छे मर्यो भन्छौं । भीर-पहरा, कान्ला ठाउँठाउँमा कोट्याएर पहिरो लगाउँछौं, भत्कियो पहिरो आयो भन्छौं । बस्ने बेला पहाडमा बस्ने अनि पहिरो आयो भन्ने । भिरालो पहाडमा नगएको पहिरो मैदानमा जान्छ ? मैदानको खाडलमा बसोवास गर्ने, अनि डुबायो भन्ने ? खाल्डामा नडुबे पहाडको टाकुरामा डुब्छ त ?
प्राकृतिक विपद् भीषण वर्षाको कारण यति दिनमा यति दिनसम्म हुँदैछ भनेर सूचना सरकारले मौसमी चेतावनी दिने, नटेरी अटेरी गरी गाडी घिस्याएर जहाँ-जहाँ पहिराको डर छ वास्तै नगरी गाडी चलाएरबीच बाटाको जोखिममा गाडी खक्र्याउने ? सरकार फेसबुक र मिडियामा मौसम चेतावनी दिने र फेसबुके जस्तो भएर बस्ने, सुरक्षा शक्ति प्रयोग गरेर नाका नरोक्ने, कर्मकाण्डका रूपमा सूचना दिएर चुप बस्ने ? त्यसैले यहाँका निर्दोष त नदी, खोला, बाढी, पानीमात्रै छ किनकि उसको कामै त्यही हो आयो गयो । नत्र सरकार, जनता, गाडी, ड्राइभर, यात्रु सबैसबै नै दोषी छन् । किनकि सुन बिग्रन्छ रुनारानी, मान्छे बिग्रन्छ जानीजानी । दोषी आफैंमा सबै छौं ।
विपद् प्रकृतिले दिने त छँदै छ तर हामी अरू धेरै निम्त्याइरहेका छौं आफैंले प्रकृति, भूगोल नबुझेर र मिचेर । सरकारमा बस्नेले आफ्नो जिम्मेवारी, अभिभावकत्व नबुझेर र सुरक्षामा लापरबाही गरेर । यातायात व्यवसायीको लापरबाही र मिच्याइँ पनि यहाँनेर छ/छैन भन्न मिल्दैन तर ती स्वीकार्न मञ्जुर छैनन् ।
खोला मिचेको ठाउँमा खोला नपसेर भोला आउँछन् त ? जय भोले भनेर हातमा त्रिशूल लिएर उठाउन ? यति भन्दै गर्दा कतिको मुड्की कसिइसक्यो होला ? कतिका मुख काउसो सल्केको झैँ चिलाएको होला । कतिका गिदी छड्किएको होला ? कतिको प्रेसर बढिसक्यो होला ? केही चाहिँ हो त नि है, ‘अघिल्ली मानिन, पछिल्ली जानिन, बाघ लाग्यो घिच्याउन ऊ लागि चिच्याउन, आलीमुनि झार्यो मेरो मनले हार्यो’ भन्ने पनि पक्कै केही होलान् । ‘हाई मन पछुताई, बेला बितेर गयो अब खोजेर कहाँ पाई ?’ भनेर बाँच्नेहरू थक्कथक्क भएका छन् ‘व्यर्थै बसिछु खोलाको किनार,’ पनि भनेको सुनियो । एकजना काभ्रेका खोला किनारमा बस्ने भाइले ।
तसर्थ विपद् प्रकृतिले दिने त छँदै छ तर हामी अरू धेरै निम्त्याइरहेका छौं आफैंले प्रकृति र भूगोल नबुझेर र मिचेर । सरकारमा बस्नेले आफ्नो जिम्मेवारी र अभिभावकत्व नबुझेर र सुरक्षामा लापरबाही गरेर । यातायात व्यवसायीको लापरबाही र मिच्याइँ पनि यहाँनेर छ, छैन भन्न मिल्दैन तर ती स्वीकार्न मञ्जुर छैनन् किनकि फेरि उनीहरू प्राकृतिक भूगोलमाथि मृत्युेसँग खेल्नै चाहन्छन्, कमाउने बाहनामा । चेतावनीलाई नटेरेर यातायातका साधन पहिराको फेदीमा जबरस्ती लगेर राखे । यसमा नछेक्ने र जिम्मेवारी नदेख्ने सरकार सँगसँगै भागिदार र दोषी त हुँदै हो भन्नै पर्छ । किन नाका नाका रोकेन ? तीन-चारदिन । यो तत्कालीन सरकारी कच्चापन हो बन्द कडाइका साथ नगर्नु ।
पहिले नेपालको भूगोल बुझौं मनन् गरौं र भूमाफियाको मोल कति हो ? राष्ट्रले गरौं अर्थात् हैसियत । के राष्ट्र दल र तिनका नेता राज्य तिनकै इच्छा माफिक चल्ने हो ? अनि जनता ? नेपालको भूगोल अधिकांश भिरालो पहिरो र ठाडो खोलाको बहावको पहिरेनी पहाडी भूगोल हो । दक्षिणमा समतल र गहिरा गहिरा भूबनावट भएको मैदानी भूगोल हो चुरेको चुरा झैँ चक्नाचुर भएर ओइरिने बच्काने थुम्का र खगर बगर छाडेर । मध्यपहाडी खण्डका उपत्यकी भूगोल अलि भिन्नै भूगोल हो । जहाँ बत्तीका पुतली झैँ मान्छे होम्मिन्छन् अनि मानवीय र प्राकृतिक विवादले विपद् डाक्छन् व्यहोर्छन् । चाहे बागमती किनार होस् वा विष्णुमती वा अन्य मतीहरू हुन् वा खोला खुशीका किनार ।
भीरपाखा पखेरामा बस्नेले एक पाइला टेकेर पनि कसरी हिँड्नुपर्छ भन्ने जानेको हुन्छ भने नदीकिनारमा बस्नेले पानीमा कसरी पौडिने भन्ने जान्दछ । माछा मार्न र जँघार तर्न जान्ने सीप ऊसँग हुन्छ । जब सीप हुँदाहुँदै र बुझ्दाबुझ्दै पनि मान्छेले बुझ पचाएर अल्पकालीन फाइदा हेरेर बल मिच्याइँ गरी ज्याकल नलेज लाउँछ त्यो अन्त्यमा केही कालपछि फस्छ फस्छ । अझै उठ्नै नसक्ने गरी फस्छ र मृत्युसम्म पुग्छ । यी कुरा मानिसभित्रको मानिसले बुझ्दैन सुझ्दैन र त दुःख र कष्ट निम्त्याउँछ अनि नहुनुपर्ने भइसकेपछि आच्या भन्नुको के अर्थ प्रायश्चित्तको त अर्थ रहँदैन ।
यसरी पहिरामा पुरेर प्लटिङ, नदी किनारमा मिचेर प्लटिङ र मिलोमतोमा दर्ता गर्यो हालसाबिक गरी मिच्ने र बेच्ने, गुठीका कर्मचारीबाटै गुठीको जग्गा गायव रातारात मालामाल, सुकुमवासीको नाम र ठाममा हुकुमवासीको बसोवास र चलखेल, नदी खोला कुच्याएर हृयुम पाइपमा जबरजस्ती घुसारेर निचोर्यो पछि उसको बैंश आएर बल पुगेपछि उसले पनि जो अघि पर्छ, त्यसैलाई नन्याकी र ननिचोरी किन छोड्छ र ? ‘पालाको पैँचो डालाको निम्ठो’ नदी खोलाले गर्यो । माफियाले कमाएर छड्किइहाल्यो ।
‘बाख्राले बिराउने, भेडाको कान काटिने’ यो सबै रमिते बनेर हेर्ने र सुन्नेको नाम हो नेपालमा सरकार । सरकार भनेको जनताको दरकार हो, यदि सरकारले जनताको दरकार/आवश्यकता हुँदा र परेको बेलामा सरकारको रूपमा काम गर्दैन भने त्यो सोफामाथिको भुक्ने कुकुर किन पाल्नुपर्ने ? आज हामी नेपाली झण्डै शताब्दीदेखि नै यही चक्करमा ठक्कर खाइरहेका छौं । अक्करमा ककरकिइरहेका छौं । होला गर्ला भनेर आशाको खेतीमा होला किको बारीमा बस्दा बस्दा यहीँ बिलाउने भयौं ।
विपद् नआउने गरी भावी दिनमा सुरक्षित हुन नदी किनार नमिच्ने नबस्ने, खोला ननिचर्ने, मौसमको ख्याल नगरी नहिँड्ने, नेपालको पहिरे र भिरालो ठाडो डाँडे भूगोल नभुल्ने कुरा विपद्का लागि पूर्वसावधानी हो भन्ने मनन गरौं नाफा र कमाइका लागि नदी खोला र निरीह जनता नमिचौं दलनमलन नगरौं ।
माफिया, फटाहा नेता, ठेलुवा, अशक्त र वृद्धवृद्धाको देश हुनगइरहेको छ । ‘बाह्र पास, विदेश बास’ । परिवार छोराछोरी विदेशमा पैसा विदेशमा राखेर फड्केमा (भए पाए पद यहाँ नपाए र कार्बाही हुन आँटे रातारात विदेशमा) यस्ता नेताले यो देश विदेशीको इशारामा चलाइरहेका छन् । अनि यहाँ मुलुकको भलो चिताएर राष्ट्रिय चिन्तन गर्ने को ? हुँदै नभएको कुरामा आशावादी हुने कठै हामी निरीह नेपाली जनतालाई बुद्धु बनाएर देशका अगुवा भन्ने जति अधिकांश राष्ट्र चुस्ने सिरुघारीका किर्ना बनेका छन् । जब चुसेर ढाडिन्छन् अनि फेरि सिरुघारीमै (अर्थात् विदेशमै जान्छन् सुरक्षित ठान्छन् बस्छन्) फर्कन्छन् । हाम्रो मुलुकमा को नेता ? को माफिया ? चिन्नै गाह्रो भालुको कुन रौं ? कुन आँखी भौं ?
अब विपद् कसले निम्त्यायो किन पर्यो भनेर यसैका लागि विवाद र बहस चलाइरहनुभन्दा कारण हामी मानिस नै हौं हाम्रै कारण हामीलाई नै विपद आइलागेको हो । तसर्थ विपद् नआउने गरी भावी दिनमा सुरक्षित हुन नदी किनार नमिच्ने नबस्ने, खोला ननिचर्ने, मौसमको ख्याल नगरी नहिँड्ने, नेपालको पहिरे र भिरालो ठाडो डाँडे भूगोल नभुल्ने कुरा विपद्को लागि पूर्वसावधानी हो भन्ने मनन गरौं नाफा र कमाइका लागि नदी खोला र निरीह जनता नमिचौं दलनमलन नगरौं । अब आयो व्यवस्थापनको कुरा जहाँ समस्या त्यहाँ उपाय, जहाँ उपाय त्यहाँ समाधान । समस्याको उत्पत्तिको जरोकिलो थाहा पाएपछि त्यसको समाधानको उपाय निस्कन्छ । पहिले त समस्याको उत्पत्तिको कारण नै खोज्नुपर्छ, थाहा पाउनुपर्छ ।
बेथा पत्ता लाग्न गाह्रो बेथा खोटिए औषधि हजार मिल्छन् । हो, त्यसैले समस्याको निदानका लागि गतिलो, भरपर्दो र विश्वसनीय योजना बनाउनुपर्छ । किनकि योजनाविहीन यात्रा पागलको जात्रा सावित हुन्छ । योजना पनि आफैंमा व्यवस्थित हुनु जरुरी छ । योजना नै व्यवस्थित भएन भने, डाक्टर बैद्य आफैं सक्षम र बुझेको छैन भने त्यसले के उपचार गर्ने ? तसर्थ असल र उपयोगी योजना, आधाबाटोको खजना बुझ्नुपर्छ । तब समस्या समाधानको अचुक अस्त्र बन्छ । अनि समाधान भयो भने नै व्यवस्थित भयो, व्यवस्थापन भयो भन्ने हो । दुर्भाग्य हाम्रा योजनाकार नै योजनासँग परिचित छैनन् किनभने मूलभूत समस्या कुन र के हो त्यही नबुझेको योजनाकार बन्छ किनकि सही योजना बनाउनेलाई आफ्नो हैकम चलाउन नसक्ने हुनाले वर्तमानका फटाहा राजनीति गर्ने दल र तिनका नेताले योग्य मान्छेलाई ढिम्किनै दिँदैनन् ।
अनि मुलुकको समग्र व्यवस्थापन गर्ने योजना कसरी बन्छ र विपद् व्यवस्थापन हुन्छ ? घुसखोर, कमिसन खोर, अल्पबुद्धिका अयोग्य प्राविधिक र भ्रष्ट नेताबाट ? यिनको कन्तबिजोक नगरेसम्म मुलुक व्यवस्थापनको दिशामा किमार्थ जाँदैन । हर पक्षको समग्रमा व्यवस्थापन हुन नसक्नु र पद्धति नटिक्नुको कारण पनि राजनीतिक नेतृत्व नै हो । यसको निराकरण नभई मुलुक बन्दै बन्दैन । व्यवस्थापन हुँदैन । व्यवस्थित मुलुक हुनु नै प्राकृतिक र मानवीय विपद् निम्तिइरहनु हो । कुराको चुरो यहीँ छ । बुझे भइहाल्छ । अस्तु ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता