पाल्पा । कुनै बेला काकाकुलको अवस्थामा पुगेका पाल्पा तानसेनका उपभोक्ताहरुलाई अहिले खानेपानीमा सहज भएको छ । सातदिनदेखि दश/पन्ध्र दिनमा आउने खानेपानी अहिले एक /दुई दिन विराएर आउन थालेपछि सहज भएको हो ।
खानेपानीको मुहानलाई व्यवस्थित गर्न नसक्दा र पानी चुवावटलाई रोक्न नसक्दा तानसेनवासीले विगत लामो समयदेखि खानेपानीको चरम अभाव झेल्नु परेको थियो । तानसेन खानेपानी उपभोक्ता समितिमा नयाँ पदाधिकारी आएपछि भने यो समस्या समाधान भएको हो । समितिले खानेपानीका मुहान व्यवस्थितगर्ने, टुफुट भएका पाइपहरु मर्मत सम्भार गर्ने, विद्युत आपूर्तिका कारण देखिएको समस्या समाधान गर्ने, कर्मचारीहरुलाई वितरणमा सचेत गराउने जस्ता कामहरु गर्दै आएकाले खानेपानी समस्या समाधानमा सहज भएको बताइएको छ । अव्यवस्थित वितरण प्रणालीलाई व्यवस्थित गरेपछि खानेपानीको समस्या हटेको समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो । अहिले उपभोक्ताको धारामा एक दिन विराएर पानी वितरण हुँदै आएको उहाँको भनाई छ ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘विगतका दिनमा पानी नआएर तानसेनवासी हैरान थिए, तर अहिले धेरै पानी आयो भनेर धारा बन्द गर्ने अवस्थामा पुगेका छन् ।’ तानसेनका उपभोक्तालाई हाल दैनिक २६ लाख लिटर पानीको आवश्यकता पर्ने गर्दछ । अहिले तानसेनमा कालगण्डकी, भुल्के, सिस्ने, तिनधारा, होलाङ्दी र बाझा मुलबाट पानी संकलन गरी तानसेनमा वितरण हुँदै आएको छ ।
खानेपानीलाई व्यस्थित र नियमित गर्न सबै स्थानको पम्प स्टेशनमा जगेडा मोटरको व्यबस्था मिलाइएको, विद्युत लाईनलाई व्यस्थित गरेको, विभिन्न स्थानहरुका वितरण लाईनहरु मिलाएको समितिले जनाएको छ । संकलित ट्याकीहरुमा बढी भएको पानी मिसन अस्पताल, तानसेन नर्सिङ्ग स्कूल, ठूला–ठूला होटलहरुमा वितरण गर्दै आएको समितिले जनाएको छ ।
महसुलमा राहत
यस्तै तानसेनका उपभोक्ताले खानेपानी महसुलमा समेत राहत पाएका छन् । समितिले कार्तिक १ गतेदेखि लागु हुने गरी महसुल घटाएपछि चर्को मूल्य तिर्दै आएका उपभोक्ताहरुलाई राहत भएको हो । खानेपानीको महसुल अत्यधिक भएको भन्दै स्थानीय उपभोक्ताले मूल्य समायोजन गर्न आग्रह गर्दै आएपछि समितिले खानेपानीको महसुलमा परिवर्तन गरेको छ । उपभोक्ताले खानेपानीको महसुल महँगो भएको,न्यूनतम मूल्य बढी भएको बताउँदै आएका थिए ।
उपभोक्ताको माग र समितिको निर्णय अनुसार यस अघि कायम गरिएको मूल्यभन्दा कम बनाएर मूल्य समायोजन गरिएको समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । समितिले ग्राहस्थ र गैर ग्राहस्थ (सरकारीकार्यालय, संघसंस्था, होटल व्यवसाय, विद्यालय) गरी दुई भागमा विभाजन गरी मूल्य समायोजन गरेको छ । समितिका अध्यक्ष श्रेष्ठका अनुसार ग्राहस्थतर्फ न्यूनतम एक हजार लिटरसम्म ३ सय रुपैयाँ कायम गरिएको छ । एक हजारदेखि १० हजार लिटरसम्म प्रतिहजार ३० रुपैयाँ, ११ हजार लिटरदेखि १५ हजार लिटरसम्म प्रतिहजार ८० रुपैयाँ मूल्य कायम गरिएको छ । यस्तै १६ हजार लिटरदेखि २० हजार लिटरसम्म प्रतिहजार एक सय, २१ हजारदेखि ३० हजारसम्म प्रतिहजार २ सय, ३१ हजारदेखि ४० हजारसम्म प्रतिहजार २ सय ५० र ४१ हजार लिटरदेखि माथिका लागि प्रतिहजार लिटर ३ सय थप हुने समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यस्तै समितिले गैर ग्राहस्थ (सरकारी कार्यालय, संघसंस्था, होटलव्यवसाय, विद्यालय) का लागि पहिलेको महसुलमा १० प्रतिशत घटाएको छ । जहाँ न्यूनतम महसुल २ सय रहेको छ । समितिले एक हजार लिटरदेखि ५ हजार लिटरसम्मका लागि ५४ रुपैयाँ, एक हजारदेखि १० हजार लिटर सम्मका लागि ७२ रुपैयाँ, एक हजारदेखि १५ हजार लिटर सम्मका लागि ९० रुपैयाँ,एक हजारदेखि २० हजार लिटर सम्मका लागि १ सय ८ रुपैयाँ, एक हजारदेखि २५ हजार लिटर सम्मका लागि १ सय ३५, एक हजारदेखि ३० हजार लिटर सम्मका लागि १ सय ६२, एक हजार लिटरदेखि ५० हजार लिटर सम्मका लागि १ सय ८० र एक हजारदेखि ५१ हजार लिटर माथिको लागि २ सय २५ थप हुने गरि मूल्य समायोजन गरिएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी मूल्य समायोजन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।







Breaking news with related posts