म्याग्दी । मौरीस हर्जोग पदमार्ग (अन्नपूर्ण आरोहण ट्रेक) हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
दसैंको टीका पछिका पाँच दिनमा (असोज २८ देखि कार्तिक २ गते शुक्रबारसम्म) आठ सय बढी आन्तरिक पर्यटकहरु पुगेका मौरीस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु गरेको यात्रा मौरीस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।
दसैंको तिहार बिदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण दैनिकजसो आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको ठूलो भिड बढेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर नजिक पुगेर फर्किनुभएका सुसान्त पौडेलले बताउनुभयो ।
केहीबर्ष अगाडीसम्म सुनसान जस्तै रहेको आधार क्षेत्रमा पदमार्ग, बस्ने संरचना सहित हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड ताल सहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरना सहितका सुन्दर दृष्यका कारण देशका विभिन्न जिल्लाका साथै घर विदामा विदेशबाट आएका समेत घुम्न जान थालेपछि पदमार्गमा चहलपहल बढेको हो ।
पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकहरुलाई आकर्षित गरेको त्यहाँ पुगेर फर्किएकाहरुले बताएका छन् ।
नारच्याङ गाउँदेखि दुईदिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपाली आन्तरिक पर्यटकको संख्या बढेको मौरीस हर्जोग पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो । गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको संख्यामा ६ गुणा बढेको छ । दशैंको दिनदेखि शुक्रबार सम्म करिब ८ सय भन्दा बढी आन्तरिक पर्यटक आधारशिविर पुगिसकेका उहाँको भनाइ छ ।
यसका साथै भारतीय, चाइनिजि, ताइवानी र इटालियन पर्यटकहरुको संख्या पनि गतवर्ष भन्दा यसपाली देखिएको र अबका दिनमा पदमार्गमा नियमित पर्यटक देखिने भन्दै स्थानीय पर्यटन ब्यवसायी समेत उत्साहित छन् ।
पदमार्ग र आधार शिविरको भ्रमण गरेका पर्यटकहरुले पर्यटन पूर्वाधारको अभावका साथै आधार शिविरमा फोहोर बढेको छ भने शौचालय सहितका अन्य संरचनामा भने सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा