कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन नभएमा विकल्प दिनुपर्ने बताउनु भएको छ ।
उहाँले संघीयता लागु भएको यति लामो समय बितिसक्दा पनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भएको बताउनु भयो ।
संघीय सरकारले बनाउनुपर्ने प्रहरी समायोजन जस्ता महत्त्वपूर्ण कानुन नबनेका कारण काम गर्न चुनौती थपिएको मुख्यमन्त्री शाहले बताउनुभयो । ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा प्रहरी समायोजन नगर्नुको कारणबारे केन्द्रीय नेतृत्वले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
उहाँले प्रहरी समायोजन सहितका अधिकारहरू प्रदेशमा नदिने हो भने त्यसको विकल्प पनि सोच्नुपर्ने बेला आएको बताउनुभयो । ‘प्रहरी समायोजन हुन्छ वा हुदैन ? यसको जवाफ संघीय सरकारले दिनुपर्छ। संघीय नेतृत्वले दिनुपर्छ। समयमा संघीय सरकारले समायोजन प्रकृया अगाडि बढाउन पर्दछ, हैन भने त्यसको विकल्पका रुपमा के गर्न सकिन्छ ? संघीय सरकारले सोच्न जरुरी छ’, मुख्यमन्त्री शाहले भन्नुभयो ।
शाहले प्रदेश सरकारले आफ्नो स्रोत, साधनबाट संघीय सरकार अन्तरगतका कार्यालयलाई सहयोग गर्दै आएको बताउँदै त्यस्ता संरचनाको उद्घाटन र निरीक्षण गरेर मात्र संघीयता बलियो नहुने उल्लेख गर्नु भयो ।
प्रहरी दिवशकै अवसर पारेर डिएसपी गंगाबहादुर थापा, प्रहरी निरीक्षक गंगाबहादुर सारु, प्रहरी सहायक निरीक्षक दयाद बहादुर साउद र गंगबहादुर थापा, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, राजेन्द्र विष्ट, देवराज कामी, नरेन्द्र बहादुर बम, प्रहरी जवानहरू हेमराज विष्ट र सुस्मिताकुमारी रोकायालाई उत्कृष्ठ प्रहरी पुरस्कार प्रदान गरिएको थियो ।






