✍️ डा. केदार कार्की
दशैं पर्व खानपिनको पनि चाड हो । दशैँमा अधिकांश नेपालीको घरमा मासुका विभिन्न परिकार बनेका हुन्छन् । तर, ती परिकार स्वास्थ्यका लागि कत्तिको हितकारी छन् भन्ने ख्याल राख्नु अत्यन्त आवश्यक छ । चिल्लो र कोलस्ट्रोल बढी भएको, भुटेको, तारेको मासुले मुटुरोग लाग्न सक्ने र मुटुरोग लागिसकेकालाई अझै समस्यामा पार्नसक्ने भएकाले यसबाट टाढा रहनु आवश्यक छ । नेपालीहरूको घरआँगनमा यतिबेला दशैँ सुरु भइसकेको छ । यस पर्वमा माछा मासुको धेरै खपत हुने गरेको छ । दशैँमा हजारौं कुखुरा, हाँस, राँगा र बोकाको बलि दिने वा घरघरमा काटेर खाने र खुवाउने चलन छ । दशैँमा बलि नदिने मांसाहारी मानिसले पनि पसलबाट मासु ल्याएर खाने गरेका छन् । मध्यम र उपल्लो वर्गका मानिस च्यांग्र्राको मासु नखाएसम्म दशैँमा मनोरञ्जन लिएको मान्दैनन् ।
दशैँमा विशेषगरी चिल्लो भएका खानेकुरा तथा मासुका विभिन्न परिकार खाने चलन छ । जसले गर्दा दशैँ मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । मासुका परिकारको सावधानीपूर्वक, सन्तुलित प्रयोग गर्न र ताजा मासु खान आवश्यक हुन्छ ।
गच्छेअनुसार मीठो मसिनो खाएर दशैँ मनाउने नेपालीको परम्परै हो । परम्परा अवश्य धानिँदैछ यसपटक पनि । त्यसो त, अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । दशैँमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋण गरेरै भए पनि दशैँमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् । अन्य समय त छँदै छ तर चाडबाडमा मासु अत्यधिक खाने प्रचलन नयाँ भने होइन ।
दशैँमा दैनिकजसो मासुका परिकार पाक्ने गर्छन् । तर, मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । प्रायजसोले मासु खाए पुग्यो भन्ने मान्यता राख्ने गरेको पाइन्छ । गलत तरीकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यानै जानसक्ने हुनसक्छ । मासुमा १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ भने यसमा जिंक, भिटामिन ‘बी’, पोटासियमजस्ता तत्वहरू पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्व हुन् । नेपालीमा मासु खाने संस्कृति विकसित भए पनि खानपानको तरीका भने सन्तुलित भइसकेको छैन ।
सन्तुलित भोजनका लागि मासु अनिवार्य जस्तै मानिन्छ । तर, सही प्रयोग नगरेमा खण्डमा यसबाट प्राप्त हुने तत्वहरू पाउन सकिँदैन भने यसले स्वास्थ्यमा ठूलै असरसमेत गर्न सक्छ । विभिन्न अध्ययन-अनुसन्धानले दैनिक धेरै मात्रामा मासु खानाले स्वास्थ्यमा प्रतिकूल असर गर्ने देखाएका छन् । चाडवाडमा मासु खानै नहुने भन्ने होइन, तर कस्तो मासु खाने, कति र कसरी खाने, भन्ने कुरा महत्वपूर्ण हुन्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर, मात्रा मिलाएर खान जान्नुपर्ने हुन्छ । स्वस्थ मासुका लागि सबैभन्दा पहिले मासु प्रयोग गर्ने पशुपक्षी नै स्वस्थ हुन जरुरी हुन्छ ।
दशैँका लागि खसीबोका छनोट गर्ने कुरामा ध्यान दिनसके मासुबाट सर्ने रोगबाट बच्न तथा स्वस्थ मासु प्राप्त गर्न सकिन्छ । दशैँका लागि बजारमा ल्याइने खसी, बोका, राँगा, च्यांग्र्रामा पशु सेवा विभागले स्वास्थ्य परीक्षण गरी विभिन्न रङले मार्किङ गरेका पशुमात्रै खरिद गर्नु उचित हुन्छ । हेर्दै अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएको, फनफनी घुमिरहने खसीबोका किन्नु हुँदैन । केही रकम जोगाउने नाममा रोगी पशु किन्नु भनेको रोग नै किन्नुसरह हुने हो । दशैँमा काठमाडौं भित्रिने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ । सिङमा हरियो रङ पोतिएका खसीबोका वा च्यांग्रा स्वस्थ हुन् भने रातो रङ दलिएका अस्वस्थ हुन् भन्ने संकेत हो ।
मासुु छिट्टै सड्ने खाद्यवस्तु हो । त्यसैले हलुका गुलाबी, हरियो वा प्याजी रङको भए त्यो खान अयोग्य भइसकेको अर्थात् सड्न सुरु गरेको भन्ने बुझ्न सकिन्छ । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, दुर्गन्ध आउनु हुँदैन । सफा फ्रिजमा अलग–अलग गरी छोपेर राखेको मासुमात्रै खरिद गर्नुपर्दछ । मासु काट्दा र समाउँदा तन्के जस्तो लाग्छ भने त्यस्तो मासु खरिद गर्नु हुँदैन । साथै मासु पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काट्नेको तरिका, तराजु सफा छ कि छैन भन्नेमा पनि ध्यान दिनुपर्छ ।
फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको, बासी तथा खुला स्थानमा राखेको, काँचो मासुको परिकार खानु राम्रो मानिँदैन । मासु राम्ररी पखालिएको हुनुपर्छ । पखालिएको मासु पकाउँदा राम्ररी पाकेको हुनुपर्छ । मासुमा मानिसले धेरै थरीका मसला र धेरै चिल्लो पदार्थ राखेर पकाउने गर्छन् । मसला र चिल्लो दुवै कम भएको मासु खानु स्वास्थ्यका लागि लाभदायी हुने चिकित्सकहरू बताउँछन् । सकेसम्म बोसो र छालारहित मासु खानुपर्छ । घरमा काटेर मासु तयार पार्दै हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनैपर्छ । मासुलाई राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा हुनसक्छ । त्यसकारण दशैँमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक हुन्छ ।
नेपालका मासुपसलमा हुने गरेको लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको संक्रमण हुने गरेको छ । फोहोर वधशाला, मासुको तयारी तथा खानपानमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुनसक्ने खतरा हुन्छ । त्यसैले मासु फ्रिजमा माइनस डिग्रीमा अलग-अलग गरी छोपेर सफा र चालु फ्रिजमा राखेको खान उपयुक्त हुन्छ । मानिसहरू पनि दशैँ नै हो भनेर जथाभावी मासु किन्ने र अध्याधिक मात्रामा खाने गर्दछन् । यसरी मासु खानु नितान्त गलत हो ।
मासु पकाउने तरिकाले पनि मासु स्वस्थकर वा अस्वस्थकर बन्छ । पोलेर खाएको मासु कदापि हितकर हुँदैन । अति धेरै मसालेदार, अति धेरै भुटिएको, पटक-पटक तताइएको वा पाकेको मासुलाई पटक-पटक पकाएर खाँदा स्वाद त आउला तर शरीरलाई बेफाइदा गर्दछ । चाडपर्वमा भोजन सन्तुलन मिलाएर खानुपर्छ । बोसो र छालारहित मासु वयस्क व्यक्तिले १५० ग्रामसम्म खान मिल्छ । सन्तुलित भोजन भनेको दशैँमा मासुसँगै सागपात, फलफूल र रेसादार खानेकुरा खानु बुद्धिमानी हुन्छ । (लेखक : वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ ।)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा