काठमाडौं । आज बडादशैँको सातौँ तर तिथिअनुसार आठौँ दिन हो । आज (बिहीबार) अपराहृन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहृवान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ । यसलाई नवदुर्गाको प्रसाद अर्थात् सहायकको रूपमा भित्र्याइने प्रचलन छ । केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आहृवान गरी पूजा गरिन्छ ।
देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरूको वध गरेको दिनका रूपमा महासप्तमी मनाउने गरिन्छ । फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगान सहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने चलन छ ।
आजै काठमाडौंका नेवार समुदायका घरघरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरू, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ । घटस्थापनाका दिनदेखि नै दशैँ सुरु हुने भए पनि दशैँको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुने भएकाले मूलघरभन्दा पर रहेकाहरू घर फर्कने भएकाले पनि आजको दिनबाट दशैँको विशेष रमाइलो सुरु हुन्छ ।
नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।
उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् । यस्तै, देशभरमा रहेका विभिन्न शक्तिपीठमा देवीको विशेष आराधना, पूजा गर्ने गरिन्छ । काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती, नुवाकोटका जाल्पामाई र भैरवी, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, बागलुङ कालिका, भोजपुरको सिद्धकाली, अर्घाखाँचीको अर्घा र खाँची, डडेल्धुराको उग्रतारालगायत मन्दिरमा विशेष पूजा-आराधना हुने गर्दछ ।
नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा-आराधनासहित देवीको दर्शन गरेमा मनोकांक्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भिड लाग्ने गर्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts